मापसे जाँचमा स्थानीयसँग प्रहरी झडप



                                  उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल सहभागी कार्यक्रम स्थलबाहिर प्रदर्शन गर्दै स्थानीय बासिन्दा । 

विराटनगर : मोरङको कटहरी गाउँपालिका–१ महेशपुरमा सोमबार राति मादक पदार्थ सेवन (मापसे) चेकजाँचमा खटिएको प्रहरी टोली र स्थानीय बासिन्दाबीच झडपपछि स्थिति तनावग्रस्त भएको छ । झडपपछि प्रहरीले घरघरमा पसेर सर्वसाधारणलाई कुटपिट गरेको आरोप स्थानीयले लगाएका छन् ।

 

महेशपुरमा मापसे चेकजाँचमा खटिएको प्रहरी टोली र त्यहीं बसेर गफगाफ गरिरहेका स्थानीयको समूहबीच भएको विवाद बढेपछि झडपको स्थिति उत्पन्न भएको हो । ड्युटीमा खटिएका सुरक्षाकर्मीलाई मापसे चेकजाँचका नाममा स्थानीयसँग पैसा माग्ने गरेको आरोप लगाइएपछि विवाद भएको प्रहरीले जनाएको छ ।

विवाद बढ्दै गएको खवर पाएर स्थिति नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय मोरङबाट डिएसपी कृष्ण खड्काको नेतृत्वमा खटिएको प्रहरी टोलीसँग स्थानीयको झडप भएको हो । झडपका क्रममा स्थानीय बासिन्दासमेत रहेका प्रहरी हबलदारसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीका अनुसार पक्राउ पर्नेमा अनन्तराम चौधरी, जोगनारायण चौधरी र सवदनारायण चौधरी छन् ।  सवदनारायण प्रदेश १ प्रहरी कार्यालय विराटनगरमा कार्यरत प्रहरी हबलदार हुन् । उनकै कारण झडपको स्थिति उत्पन्न भएको एसपी केसीको भनाइ छ । कोसी अञ्चल अस्पताल विराटनगरमा स्वास्थ्य परीक्षण गराउँदा पक्राउ परेका सबैजनाले मापसे गरेको खुलेको छ । 

 

पक्राउ परेका तीनैजनाविरुद्ध मुद्दा चलाउन जिल्ला प्रशासन कार्यालय मोरङबाट म्याद थप गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । झडपमा जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी जवान रोजन राई घाइते भएका छन् । स्थानीय बासिन्दाले बियरको बोतल प्रहार गर्दा राईको टाउकोमा चोट लागेको एसपी केसीले बताए । स्थानीयले हानेको ढुंगा लागेर प्रहरीको एउटा गाडीको सिसा फुटेको छ । 

 

‘चेकजाँचमा खटिएको प्रहरी टोलीसँग मापसे गरेर आएका स्थानीयले विवाद गर्न थालेछन्,’ केसीले भने, ‘पछि बुझ्दै जाँदा विवाद गर्नेमध्ये एकजना प्रहरी हबलदार पनि रहेछन् ।’ ड्युटीका प्रहरीलाई दुव्र्यवहार गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन खोज्दा स्थानीय बासिन्दा भेला भएर प्रहरीमाथि नै आक्रमण गरेको उनले बताए । ‘प्रहरीमै कार्यरत व्यक्तिको उक्साहटमा लागेर चेकजाँचमा खटिएको प्रहरी टोलीमाथि आक्रमण भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले सामान्य बल प्रयोग गरेको हो,’ एसपी केसीले भने । उनले घरघरमा पसेर प्रहरीले सर्वसाधारणलाई कुटेको आरोपको खण्डन गरे ।

 

आदिवासी जनजाति महासंघ मोरङका पूर्वअध्यक्ष देवराज चौधरीले मापसे चेकजाँचका नाममा प्रहरीले पैसा उठाउने गरेपछि त्यसको विरोध गर्दा स्थानीय बासिन्दामाथि अन्दाधुन्दा लाठी प्रहार गरिएको बताए । स्थानीय बासिन्दासमेत रहेका उनले मद्दतका लागि आइपुगेको प्रहरी टोलीले घरघरमा पुगेर महिला, वृद्धवृद्धा तथा बालबालिकामाथि दुव्र्यवहार गर्दै लाठी प्रहार गरेको आरोप लगाए । 

 

‘मापसे चेकजाँचका खटिएको प्रहरी टोलीले सवारी चालकहरुसँग पैसा उठाउने काम गरिरहेको हुन्छ,’ उनले भने, ‘नराम्रो कामको विरोध गर्दा सिंगो गाउँमा बर्दीको आडमा प्रहरीले गुन्डागर्दी ग¥यो ।’ उनले यस्तो काम गर्न निर्देशन दिने र उक्साउने प्रहरी अधिकारीलाई कारबाही हुनुपर्ने माग गरे । 

 

मंगलबार बिहान पनि झडप

घटनाको विरोध गर्दै मंगलबार बिहान जिल्ला प्रहरी कार्यालय पुगेका स्थानीय बासिन्दा र प्रहरीबीच पनि प्रहरी कार्यालयको गेटमा झडप भएको छ । चौधरीका अनुसार मोरङका प्रहरी प्रमुखलाई घटनाको वास्तविकता बताउन जनप्रतिनिधिसहित स्थानीय बासिन्दा जिल्ला प्रहरी कार्यालय पुगेका थिए । प्रहरीले गेटमै रोकेर अन्दाधुन्द लाठी प्रहार गरेको स्थानीयको भनाइ छ । प्रहरीले वडाध्यक्ष कपुरलाल माझी, वडा सदस्य गंगा राय र ६५ वर्षीया पवनीदेवी चौधरीमाथि दुव्र्यवहार गरेको चौधरीले बताए । प्रहरीको लाठी प्रहारबाट वडा सदस्य रायको टाउको फुटेको छ ।

 

रक्षामन्त्री सहभागी कार्यक्रमस्थलबाहिर प्रदर्शन

स्थानीय बासिन्दाले प्रहरीले ज्यादती गरेको भन्दै घटनाको विरोधमा मंगलबार विराटनगरमा समेत प्रदर्शन गरेका छन् । उनीहरुले प्रहरी ज्यादती बन्द गर्नुपर्ने, दोषी प्रहरीमाथि कारबाही गर्नुपर्ने, पक्राउ परेका तीनैजनालाई बिनासर्त छाड्नुपर्ने माग गरेका थिए । 

 

स्थानीयले उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल सहभागी कार्यक्रम स्थलबाहिर पनि प्रदर्शन गर्न थालेपछि सुरक्षा व्यवस्था कडा पारिएको थियो । पोखरेल महिला हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत आयोजित कार्यक्रममा सहभागी हुन विराटनगरको वीरेन्द्र सभागृह पुगेका थिए । उनी त्यहाँ पुग्नुअघि नै स्थानीयले प्रदर्शन थालेका थिए । भीड पन्छाउँदै प्रहरीले उपप्रधान मन्त्री पोखरेललाई कार्यक्रमस्थलमा पु¥याएको थियो । 

घटनाका विषयमा जिल्ला प्रशासन कार्यालय मोरङमा सर्वपक्षीय वार्ता जारी रहे पनि निष्कर्ष भने आइसकेको छैन । वार्तामा स्थानीय बासिन्दा, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी, एसपी मनोजकुमार केसी, सशस्त्रका एसपी मनिष थापालगायत सहभागी छ । वार्तास्थलबाहिर स्थानीय बासिन्दाले बिनाकारण आफूहरु प्रहरी ज्यादतीको सिकार हुनुपरेको  भन्दै धर्ना जारी राखेका छन् । 

 

प्रतिक्रिया दिनुहोस्