बुटवलको सेमलार–मोतीपुरलाई अर्गानिक कृषि जोन बनाइने



बुटवल : बुटवल उपमहानगरपालिकाले सेमलार–मोतीपुर क्षेत्रलाई अर्गानिक कृषि जोनका रुपमा विकास गर्ने भएको छ । त्यस क्षेत्रमा खेतीको सम्भावना, पशुपालनको अवस्था र विस्तारका बारेमा समेत अध्ययन गर्दै यस्तो कार्यक्रम अगाडि बढाउने तयारी उपमहानगरपालिकाको छ । यस क्षेत्रमा उपमहानगरका १३ देखि १९ सम्मका वडा पर्छन् ।

माटो र मौसमअनुसारको अर्गानिक कृषि तथा पशुपालन अगाडि बढाउन अध्ययन भइरहेको उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले जानकारी दिए । कृषि तथा पशुपालनलाई व्यावसायिक र आधुनिक बनाउने उपमहानगरको योजना रहेको उनले बताए । मोतीपुर र सेमलार बुटवलको मुख्य कृषि क्षेत्र हुन् ।

बुटवल उपमानगरपालिकाकी उपप्रमुख गुमादेवी आचार्यले विषादीरहित खेतीको पकेट क्षेत्र र ग्रिन हाउससहितको विशेष क्षेत्र निर्माण गरी गुरुयोजना सुरु हुन लागेको बताइन् । नगरपालिकाले किसान, व्यवसायी, सहकारी र उद्यमीसँग सहकार्य गरेर अगाडि बढ्ने उनले जानकारी दिइन् । प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र सिग्देलले किसानबाट आएका प्रस्तावमा छलफल गरी एउटा निश्चित योजना बनाएर नगरपालिका अगाडि बढ्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस्