नायिका रेखा थापाले प्रदेश २ सरकारलाई सघाउने



जनकपुरधाम : प्रदेश २ सरकारको महत्वाकांक्षी योजना ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानलाई नेपाली चलचित्रकी चर्चित नायिका रेखा थापाले सघाउने भएकी छिन् । रेखा थापा फाउन्डेसनले प्रदेशका आठवटै जिल्लामा अभियान सो अभियानलाई प्रवद्र्धन गर्ने भएको हो ।

 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जनकपुरमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले छोरीका लागि स्वर्णिम नेपाल कार्यक्रमअन्तर्गत महिला हिंसा तथा बालविवाह विरुद्ध कार्यक्रम सञ्चालन गर्दै आएको  फाउन्डेसनले अबका दिनमा बेटी पढाउ बेटी बचाउ कार्यक्रमसमेत प्रवद्र्धन गर्ने बताए । 

सामाजिक रूपान्तरणको अभियानअन्तर्गत सरकारले ल्याएको बेटी पढाउ बेटी बचाउ अभियानलाई नायिका थापाले प्रोमोसन गर्ने इच्छा व्यक्त गर्नु प्रदेशकै लागि सुखद रहेको राउतले बताए । उनले अभियानलाई सार्थक र सफल तुल्याउन अन्य समाजिक क्षेत्रका अन्य  व्यक्तित्वलाई समेत अगाडि आउन आह्वान गरे । पत्रकार सम्मेलनमा नायिका थापाले प्रदेश २ सरकारले ल्याएको कार्यक्रमले आफूलाई प्रदेशमा आउन आकर्षित गरेको उल्लेख गरिन् ।

उनले प्रदेशका बालबालिकाले मुख्यमन्त्रीका रूपमा राम्रो अभिभावक पाएको बताउँदै अभियानको सफलताका लागि आफू र आफनो फाउन्डेसनले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

अचेत चेलीहरूलाई जगाउन आफू नायिका भएर होइन एउटा आम जागरूक जनताका रूपमा प्रस्तुत हुन खोजेको रेखाको भनाइ थियो ।  

फाउन्डेसनले अहिले देशव्यापी महिला हिंसाविरुद्धको कार्यक्रम सञ्चालन गर्दै आएको छ उनले जानकारी दिइन् ।

 

प्रतिक्रिया दिनुहोस्