सुदूरपश्चिम प्रदेशका अर्थमन्त्रीले बजेट समीक्षा सुनाए, खर्च विवरण दिएनन् 



कैलाली : सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले चालू आर्थिक वर्षको चौमासिक बजेट समीक्षा गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले मंगलबार मन्त्रालयमै पत्रकार सम्मेलन गरी चालू आर्थिक वर्षको चार महिनामा भएका प्रदेश सरकारका गतिविधिबारे जानकारी दिएका हुन् ।

मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बोहराले आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ मा विनियोजित चालू तथा पुँजीगत बजेटबारे चर्चा गरे । आर्थिक वर्ष २०७४/७५ का लागि १ अर्ब २ करोड ५ लाख रुपैयाँ बजेट विनियोजन भएकोमा पुँजीगततर्फ १७ करोड ७१ लाख र चालूतर्फ ८४ करोड ३४ लाख छुट्याइएको थियो । पुँजीगततर्फ ४० प्रतिशत अर्थात् ७ करोड ८ लाख र चालूतर्फ २० प्रतिशत अर्थात् १६ करोड ५८ लाख रुपैयाँ खर्च भएको छ ।

आर्थिक वर्ष २०७४/७५ मा बजेट खर्च न्यून देखिनुका पछाडि संगठन संरचना, संयन्त्र, आवश्यक कानुन र कर्मचारीको अभाव कारण रहेको मन्त्री बोहराले बताए । 

मन्त्री बोहराले चालू आर्थिक वर्षको बजेट खर्च अवस्थाबारे भने जानकारी दिएनन् । चालू आर्थिक वर्षमा विनियोजित २५ अर्ब ६ करोड ५६ लाख रुपैयाँमध्ये चालूतर्फ १३ अर्ब ३५ करोड ८ लाख (५३.३६ प्रतिशत) र पुँजीगत तर्फ ११ अर्ब ७१ करोड ४८ लाख (४६.१४ प्रतिशत) रुपैयाँ छुट्याइएको छ । 

राजस्व संकलन न्यून 

सुदूरपश्चिम सहरले चालू आर्थिक वर्षमा १ अर्ब २९ करोड ६५ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा पहिलो चार महिनामा जम्मा २१ करोड ३१ लाख संकलन गरेको छ । यो लक्ष्यको १६.४ प्रतिशतमात्र हो ।

कर्मचारी अभावले काम हुन सकेन

आर्थिक मामिला तथा योजना मन्त्रालयको कुल दरबन्दी ४८ रहेकोमा ३१ पद रिक्त रहेको जानकारी दिँदै मन्त्री बोहोराले भने, ‘सोही कारण प्रदेश सरकारले जनताको चाहनाअनुसार काम गर्न सकेन ।’

 

प्रतिक्रिया दिनुहोस्