के चुनाव मैले तिरेको करबाट बाजी खेल्ने खेलमात्र हो ?



म बिहान ७:३० मा कलेज पुग्छु । म घरमा सुत्छु । यो मेरो श्रमले बनाएको घर हो । मेरो पैसाले किनेको जमिन हो । म यसको कर तिर्छु । मेरा छिमेकीले कोठा भाडामा लगाएका छ्न । उनी त्यसको पनि कर तिर्छन् ।

मैले बिहान खाएको पाउरोटीको पनि म कर तिर्छु । मैले बाँच्न पनि कर तिर्नुपर्छ ।

म ६ घन्टा पढाउँछु । मेरो दिमाग र श्रमबापत तलब पाउँछु । तर त्यसमा पनि कर लाग्छ ।

म गाडी किन्छु । त्यसमा कर तिर्छु । प्रत्येक वर्ष कर तिर्छु । मे पेट्रोल किन्छु त्यसमा पनि कर तिर्छु । म सडकमा गाडी कुदाउँछु, त्यसको पनि कर तिर्छु ।

म सन्तानलाई पढाएबापत कर तिर्छु ।

म बिरामी हुन्छु, डाक्टरलाई जचाउँदा पनि कर तिर्छु । म औषधि किन्छु त्यसमा पनि कर तिर्छु । म आँखाका लागि चस्मा किन्छु, त्यस मा पनि कर तिर्छु । 

म जुत्ता किन्छु, त्यसमा पनि कर तिर्छु ।

म सर्ट किन्छु, त्यसमा पनि कर तिर्छु ।

म कट्टु किन्छु त्यसमा पनि कर तिर्छु ।

म बिजुलीको शुल्क तिर्छु, त्यसमा पनि कर तिर्छु ।

म पानी पिउँछु, त्यसमा पनि कर तिर्छु ।

म जीवनका प्रत्येक पाइलामा कर तिर्छु । मलाई हृदयाघात हुन्छ, औषधि गर्छु । मृत्युबाट फर्किंदा पनि कर तिर्छु । दुर्घटना हुन्छ । मेरो खुट्टा काटिन्छ तर मसँग कर पनि लिइन्छ । बम पड्किन्छ, म बल्लबल्ल बाँच्छु, मसँग कर उठाइन्छ । 

तर यो करबाट के किन्छ सरकार ?

१. मन्त्री र हाकिमलाइ महँगो गाडी किन्छ ।

२. मन्त्री र हाकिमले चड्ने गाडीमा हाल्न तेल किन्छ ।

३. मन्त्री र हाकिमलाई विदेश यात्रा गर्न भत्ता दिन्छ । गत साल हाकिम र मन्त्री गरी एक हजार चार सयजनाले विदेश डुले मैले अस्पतालमा उपचार गर्दा तिरेको करले ।

४. दलका कार्यकर्तालाई खर्छ बाँड्छ ।

५. बाटोमा एक इन्चको पिच गरेर ठेकेदारलाई पैसा दिन्छ । हाकिम र मन्त्रीले ३५५ प्रतिशत घुस खान्छ्न् ।

देशको व्यापार घाटा सात गुणा बढी भएको छ । टोलटोलका फलफूल दोकानमा अस्ट्रेलियाबाट ल्याएका स्याउ छन् । तर जुम्लाका स्याउ भैंसीले खाँदैछन् । 

गरिबले सिटामोल पाउँदैन । सुकुमबासीको घर छैन । थुप्रै महिला शरीर बेच्न बाध्य छन् । किन ?

 

म यो देशको सन्तान हुँ । मेरो जिम्मेवारी छ, यो देश जोगाउने । म नागरिक हुँ यो देशको । मेरो जबाफदेहिता छ, देशको संरक्षण गर्ने । तर मलाई शासन गर्छन् मेरा देशका नेता । मलाई शोषण गर्छन् मेरा नेता । 

 

मैले भर्खर एउटा सन्तान जन्माएँ । उसले यो देशलाइ जोगाउन ज्यान पनि दिन्छ भविष्यमा । तर उसलाई लिएर घर फर्किंदा मैले उसलाई जन्माएबापत कर तिरें । अब उसको नाम दर्ता गर्दा कर तिर्नुपर्छ । उसलाई स्कुल भर्ना गर्दा कर तिर्नुपर्छ । उसको विवाह दर्ता गर्दा कर तिर्नुपर्छ । उसको नागरिकता लिँदा कर तिर्नुपर्छ ।

 

कहिलेसम्म म कर तिरिरहने अनि मन्त्री र हाकिम मेरो करबाट मस्ती गरिरहने ?

 

म तपाईंलाई भोट हाल्न चाहन्छु तर के मेरा यी प्रश्नको जबाफ तपाईंसँग छ ?

 

के चुनाव मेरो श्रममा लगाएको करबाट बाजी खेल्ने खेलमात्र हो ? हरेक नागरिक सचेत हुन आवश्यक छ । सोध्नुहोस् प्रश्न । लोकतन्त्रलाई आफ्नो हातमा लिने प्रयास गर्नुहोस् । निराशा होइन, चेतनाको खेती गरौं ।

प्रतिक्रिया दिनुहोस्