काठमाडौँ : बाथरुमलाई गोपनीयताको अन्तिम आधार मानिन्छ । तर, अब चाडै एउटा नयाँ हाई–टेक ल्याभोटरी(उच्च–प्रविधियुक्त शौचालय) ले मानिसका हरेक गतिविधिलाई ट्रयाक गर्नेछ ।
युरोपेली अन्तरिक्ष नियोग (ईएसए) र म्यासाच्युटेट्स इन्स्टिच्युट अफ टेक्नोलजी(एमआईटी)का शोधकर्ताहरुले उक्त ‘ट्वाइलेट’ बनाउन जुटेका हुन। ‘फिटलू’ नाम दिइएको ट्वाइलेट बनाउनमा यी दुई संस्थाका विशेषज्ञहरु संयुक्त रुपमा काम गरिरहेका छन्।
अबको पाँच वर्षभित्रै यसको व्यापारिक उत्पादन थालिने उनीहरुले बताएका छन्। यो विशेष प्रविधियुक्त ट्वाइलेट साँच्चिकै ‘स्मार्ट’ हुनेछ। यसले मानिसका विभिन्न रोगहरुको प्रारम्भीक संकेतहरुलाई ट्रयाकिङ र स्क्रिनिङ गर्दै मोबाइलमा जानकारी लिनेछ। ट्वाइलेटमा प्रयोग हुने ‘प्यान’ सेन्सरयुक्त हुनेछ। यसले व्यक्तिका रोगसहित अन्य गतिविधिहरुलाई संकलन गरी उपयोगकर्ताको मोबाइल फोन मार्फत् अवगत गराउने छ। यो मोइबाइल एपबाट सञ्चालित हुनेछ।
यसमा जडित सेन्सरले बाथरुमबाट सम्प्रेषित जानकारीहरु संकलन गरी व्यक्तिको स्वास्थ्यमा कसरी परिवर्तन भइरहेको छ भन्नेबारे अवगत गराउने लण्डनबाट प्रकाशित हुने ‘डेली टेलिग्राफ’ ले लेखेको छ।
उसले डिजिटल शौचालय बोर्ड गठबन्धनको नेतृत्व गर्ने स्वास्थ्य र स्मार्ट स्यानिटेसनका माइकल लिंडेनमेयरलाई उद्धत गर्दै भनेको छ ‘यो शौचालयले मानिसलाई उनीहरुको स्वास्थ्यमाथि नियन्त्रण हासिल गर्न अविश्वसनीय अवसर प्रदान गर्छ।’
शौचालय निर्माताहरुमध्येका एक माइकलले भनेका छन,‘मानिस जब बिरामी हुन्छन, तब मात्रै चिकित्सकहरु कहाँ पुग्ने गर्छन्। फिटलू ट्वाइलेटले तपाई बिरामी भएको कुरो पहिले नै भनिदिनेछ। तपाईलाई उपचारमा सहयोग पनि गर्नेछ।’ उनी थप्छन्, ‘हामीले आफ्नो शरिरलाई पर्याप्त सुन्दैनौ, ध्यान दिदैनौ तर जब हामी यो स्मार्ट ट्वाइलेटको प्रयोग गर्छौँ, हामी आफ्नो शरिरप्रति सचेत हुनेछौँ। ’
माइकलका अनुसार मानिसले दिनहू धेरै पटक ठूलो परिमाणमा आफ्नो स्वास्थ्यसँग सम्बन्धित जानकारी बाथरुममा फ्लस गरेर बगाई दिने गर्छन्। फिटलू स्मार्ट ट्वाइलेटले ती जानकारीहरुलाई एकत्रित गर्दै मोबाइलमा सम्प्रेषण गरिदिनेछ। खासगरी यसमा भएका सेन्सरबाट प्रयोगकर्ताको मोबाइल फोनमा पुग्नेछ , यसले तपाईको स्वास्थ्यमा के गडबडी या परिवर्तन भइरहेको देखाउने छ।
बेलायती ‘एक्सप्रेस’ अनलाइनका अनुसार अन्तरिक्षमा प्रयोग भइसकेको यस प्रकारको शौचालय अब सर्वसाधारणले पनि प्रयोग गर्न सक्ने छन्। मानिसको दिशापिसाबको ‘मोनिटर’ गर्दै यसले ऊ बिरामी भए/नभएको जानकारी समेत दिनेछ।
यसलाई अर्को पिढिको स्मार्ट शौचालयको संज्ञा दिइएको छ। यो शौचालय व्यापारिक रुपमा पाँच वर्षभित्रै बजारमा ल्याउने गरी तयारी भइरहेको छ। अन्तरिक्षयात्रीका लागि प्रयोग गरिने यो शौचालयमा केही प्रविधिहरु जडान गर्नुपर्ने भएकाले डमेस्टिक ट्वाइलेट बनाउनमा समय लाग्ने भएको हो।
हाइ–टेक शौचालयको प्रमुख विशेषताहरुमा यसले ग्लुकोजको लेभेलमा परिवर्तनबारे जानकारी दिदै रोगहरुको उपचारमा सहयोग पुर्याउनेछ। ट्वाइलेटभित्र डेटा प्रयोग गरेको अवस्थामा यसले तपाईको मोबाइल फोनमा जानकारी पठाउने छ।
ईएसएका अनुशन्धानकर्ताहरुले अन्तरिक्षमा प्रयोग गरिएको प्रविधि डमेस्टिक ट्वाइलेटमा उपयोग गर्दैछन्। अन्तरिक्ष यात्रुले आफ्नो स्वास्थ्यको मनिटर गर्न धेरै पहिले यो प्रविधिको उपयोग गरिसकेका छन्।
अनुशन्धानकर्ताहरुका अनुसार सार्वजनिक ट्वाइलेटमा लगाइने यस्ता सेन्सरले सरकारी स्वास्थ्य अधिकारीलाई समुदायमा फैलिन सक्ने रोगको भविष्यवाणी गर्दै नियन्त्रण गर्न सहयोग पनि गर्नेछ। त्यस्तै, स्मार्ट ट्वाइलेटले तपाईको दिशाको ट्रयाकिङ गर्दै क्यान्सर र मधुमेह रोगको प्रारम्भीक संकेतहरुबारे जानकारी पनि दिने छ।
ट्वाइलेट बउलमा रहेको सेन्सरहरु मार्फत् तपाईको पिसाबमा आवश्यकता भन्दा बढी प्रोटिन या ग्लुकोज निस्किरहेको भन्नेबारे पनि जानकारी यसबाट लिन सकिने शोधकर्ताहरुले बताएका छन्।
(एजेन्सीहरु)