कोटेश्वर–कलङ्की सडक निर्माण सम्पन्न



काठमाडौं : कोटेश्वर–कलङ्की सडकको निर्माण कार्य सकिएको छ । 

सडक निर्माणको काम पुरै सकिएको काठमाडौँ चक्रपथ सुधार योजनाका इन्जिनियर निरञ्जन शर्मा अर्यालले बताए । दश दशमलव चार किलोमिटर लामो यो सडक निर्माणको काम चिनियाँ सरकारको सहयोगमा चिनियाँ निर्माण कम्पनी सङ्घाई कन्स्ट्रक्सन ग्रुपले गरेको हो । 

“सडक निर्माण कार्य सकिएपछि अहिले सडक चिन्ह लगाउने काम भइरहेको छ”, उनले भने, “सडक चिन्ह सकिएपछि नेपाल सरकारलाई सडक हस्तान्तरण हुनेछ ।” सडक निर्माणका क्रममा एक तहको कालोपत्रे सकिएपछि दोस्रो चरणको कालोपत्रे भएको योजनाले जनाएको छ । 

दोस्रो चरणको कालोपत्रे सकिएपछि सडकमा विभिन्न चिन्ह लगाइएको हो । “अहिले छुट भएका वा कतै समस्या आएका ठाउँमा काम भइरहेको छ,” उनले भने, “केही दिनमा यसको सम्पूर्ण कार्य सकिन्छ ।” 

यो सडक खण्डमा चिनियाँ सरकारले जिम्मा लिएको काम सकिँदा नेपाल सरकारले जिम्मेवारी लिएको काम कतै अघि बढेको छ, भने कतै अघि बढ्न सकेको छैन । आठ लेन सडक भन्दा बाहिर दुवैतर्फ एक एक लेनको सर्भिस ट्रयाक (सेवा सडक) निर्माण नेपाल सरकारले जिम्मेवारी लिएको हो । यसमा केही स्थानमा मात्र काम अघि बढेको छ । 

सर्भिस ट्रयाकमा पर्ने घर टहरा नहट्दा कतिपय ठाउँमा काम हुन सकेको छैन । यो सडकमा १० वटा आकाशे पुल छन् । चिनियाँ सरकारले जिम्मेवारी लिएका तीन पुलको निर्माण सम्पन्न भइसकेको छ । 

उनले भने, “नेपाल सरकारले गर्ने भनिएका आकाशे पुलमा कतै काम अघि बढे भने कतै ठेक्काको प्रक्रियामा छ ।” चार वर्ष पहिले ४० महिनामा निर्माण सम्पन्न गर्ने गरेर सडक निर्माण सुरु भएको थियो । 

गत वर्ष नै सक्ने गरेर नेपाल सरकारसँग ठेक्का सम्झौता भएको थियो । विसं २०७२ को भूकम्प र त्यसपछिको नाकाबन्दीले गर्दा समयमा काम नसकेको जनाएको छ । त्यसपछि सरकारले एक वर्ष अवधि थप गरेको थियो । 

थप भएको अवधि (आगामी डिसेम्बर) भित्रै सरकारलाई हस्तान्तरण गरिने योजना छ । नेपालमा पहिलो पटक बनेको ‘अन्डर पास’ (भूमिगत सडक) लाई यो सडकको विशेषता मानिएको छ । भूमिगत सडक खसी बजारचोकदेखि कलङ्कीसम्मको सडक निर्माण सम्पन्न भएर सञ्चालनमा समेत आइसकेको छ । सडकको मुख्य लेन माथि सडकमा र सहायक लेन जमिनमुनि छ । 

निर्माणमा पुरै प्राविधिक जनशक्ति चिनियाँ नै छ । अदक्ष कामदारमा नेपाली र चिनियाँ दुवै छन् । सडक हस्तान्तरण हुनु पहिले नै चिनियाँ सरकारले कलङ्कीदेखि महाराजगन्जसम्मको सडक निर्माण गर्न इच्छा देखाइसकेको छ । 

सडक निर्माणका क्रममा काम गर्ने स्थान खाली गरिदिनुपर्ने भए पनि निर्माणका क्रममा विभिन्न अवरोध आएको योजनाले जनाएको छ । पाइपलाइन, विद्युत्का खम्बा, सडक छेउका घर टहरा, सडकमा बिच्छ्याइएका मेलम्ची र काठमाडौँ उपत्यका खाने पानी लिमिटेडका पाइप समय–समयमा फुट्दा ढिलाइ भइरहेको छ । सातदोबाटो, खसी बजार, महालक्ष्मी स्थानमा सडक छेउमा रहेका घर टहरा भने अझै हटेका छैनन् । 

यो सडकमा मुख्य लेन, सहायक र सर्भिस गरेर तीन किसिमका लेन छन् । चिनियाँ सरकारले निर्माण गरेको आठ लेन भए पनि सर्भिस ट्रयाक समेत गर्दा यो सडक १० लेनको हो । सडकको बीचमा मुख्य लेन र मुख्य लेनको दुवैतर्फ सहायक लेन छन् । चक्रपथ छिर्न सर्भिस ट्रयाक पनि छन् । जहाँबाट निश्चित ठाउँमा पुग्दा मात्रै चालकले सहायक वा मुख्य लेनमा प्रवेश गर्न पाउँछन् । 

दश दशमलव ४ किलोमिटरको उक्त सडकमध्ये सात दशमलव छ किलोमिटर काठमाडौँ र दुई दशमलव आठ किलोमिटर सडक ललितपुरमा पर्छ । 

प्रतिक्रिया दिनुहोस्