वृद्ध हत्या आरोपमा चार पक्राउ



तनहुँ : तनहुँको शुक्लागण्डकी नगरपालिका–३ कवासेमा मृत फेला परेका एक वृद्धको हत्या गरेको आरोपमा चार जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा सोही ठाउँका विनोद विक, बद्री विक, जुना विक र सुशील विक रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वृद्धको हालसम्म पनि सनाखत हुन सकेको छैन । वृद्धको शव गत शुक्रबार कवासेस्थित एक निर्माणाधीन घरमा फेला परेको थियो । 

प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले पक्राउ परेकाविरुद्ध जिल्ला अदालत तनहुँबाट म्याद थप गरी अनुसन्धान भइरहेको जानकारी दिए । हत्याका मुख्य अभियुक्त विनोदलाई प्रहरीले शनिबार बागलुङबाट पक्राउ गरेको थियो ।

पक्राउ परेकामध्ये विनोद बद्रीका भतिजा हुन् भने जुना श्रीमती र सुशील छोरा हुन् । बद्री, जुना र सुशीलले वृद्धको हत्या नगरे पनि घटना लुकाउन खोजेको प्रहरीको भनाइ छ । 

घटनाअनुसार गत बिहीबार राति विनोदले ती वृद्धलाई बद्रीको घरमा लगेर रक्सी खुवाएका थिए । रक्सी लागेपछि झगडा हुन थाल्दा विनोदले ती वृद्धलाई कुटपिट गरेका थिए । विनोदको कुटाइबाट ढलेका वृद्धलाई बिहीबार राति नै उनीहरूले निर्माणाधीन घरमा लगेर छाडेका थिए । 

घटनाका अभियुक्त पक्राउ गर्न प्रहरीलाई कुशल नाम गरेको कुकरले सफलता दिलाएको छ । शव फेला पर्ने बित्तिकै प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयबाट कुशल नामको कुकुरलाई घटनास्थल पु¥याएको थियो ।

शव वरिपरिका वस्तु र मृत फेला परेका वृद्धको कपडा सुँघाएपछि कुकुर घटनास्थलबाट चार सय मिटर पर रहेको बद्री विकको घरमा छिरेको थियो । कुकुर बद्रीको घरमा छिरेपछि प्रहरीले बद्रीलाई केरकार गरेको र बद्रीले वृद्धको हत्या आफ्नो भतिज विकले गरेको बयान दिएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्