अत्तरिया–चिसापानी सडकमा अत्यधिक दुर्घटना



कैलाली : सुदूरपश्चिम प्रदेश बाट सवारी साधन आवतजावत गर्ने एक मात्र सडक हो अत्तरिया–चिसापानी सडक खण्ड । पूर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने अत्तरिया–चिसापानी सडक खण्डमा पछिल्लो समय अत्यधिक दुर्घटना भइरहेका छन् ।  

 

सवारी दुर्घटना बढ्नुका विभिन्न कारणहरू छन् । जसमध्ये मानवीय, यान्त्रीक, वातावरणीय र सडक भौतिक अवस्था मुख्य कारक रहेको औँल्याइएको छ । यो राजमार्गमा दुर्घटना बढ्नुको प्रमुख कारण मानवियनै रहेको ट्राफिक प्रहरीको दाबी छ ।

 

मानिसहरू आफ्नो जिम्मेवारी प्रति संवेदनशील नहुनु, ट्राफिक नियमको पालना नगर्नु, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउनुलगायतका कारण बाट दुर्घटना हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक अनिल कुमार उप्रेतीले बताए । 

 

यस आर्थिक वर्षको ४ महिनामै १९ सवारी साधन दुर्घटनामा परेको तथ्याङ्क जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलाली दिएको छ । यी दुर्घटनामा ८ जनाले ज्यान गुमाएका छन् भने ७५ जना अङगभंग भएका छन् ।  

 

यस्तै समग्र सुदूरपश्चिम प्रदेशको तथ्याङलाई हेर्ने हो भने यस वर्ष चार महिनाको अवधिमा ४५ जनाको मृत्यु भएको छ भने १ सय १६ जना घाइते भएका छन् । यद्यपि, ट्राफिक प्रहरी भने विगतका वर्ष भन्दा अझैप्रभावकारी भूमिका निर्वाह गरिरहेको दाबी गर्छ । सो सडक खण्डमा ६ ओटा ट्राफिक चेक पोस्ट रहेका छन् भने ट्राफिक प्रहरीको सङ्ख्या १७ छ । 

 

सर्वसाधारण भने सडकको अवस्था नाजुक हुनु र ट्राफिक प्रहरीको फितलो चेकजाँचका कारण सवारी दुर्घटना बढ्दै गएको बताउछन । झन्डै अढाई घण्टा समय लाग्ने छोटो दुरीको सडकमा यसरी सवारी दुर्घटना बढ्नु सर्वसाधारणका लागी चिन्ताको विषय बनेको छ ।

 

प्रतिक्रिया दिनुहोस्