खसी भनेर बाख्राको मासु बेच्ने पक्राउ



जनकपुरधाम : खसी  भनेर बाख्राको मासु बेच्ने एक व्यापारीलाई मंगलवार जनकपुरबाट पक्राउ गरिएको छ ।जिल्ला अनुगमन टोलीले खसी भनेर बाख्राको मासु बेचिरहेको अवस्थामा उमगाउँ विहार स्थायी बासिन्दा असलम राईनलाई पक्राउ गरेको हो । उनी पसलका कामदार हुन् ।

पसल सञ्चालक अमिन राईन जनकपुर बाहिर रहेको र सम्पर्कमा आएपछि थप अनुसन्धान गरी कारबाही प्रक्रिया अगाडि बढाइने अनुगमन टोलीले जनाएको छ । 

संयुक्त बजार अनुगमन समिति धनुषाले जनकपुरलाई केन्द्रित गरी मंगलवार समेत बजार अनुगमनलाई तीव्रता दिएको छ । 

स्थानीयको गुनासोको आधारमा मासु पसलमा अनुगमन गर्दा खसीको मासु भनेर बाख्राको मासु बिक्रिबितरण गरिरहेको पाइएको थियो । 

पक्राउ परेका राइनले पसलमा लामो समयदेखि मासुमा मिसावट हुँदै आएको स्वीकारेका छन् । पक्राउ परेका रायनलाई आजै जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाइएको छ । 

यस अघि पनि जनकपुरमा खसी भन्दै बाख्राको मासु बेचेबो आरोपमा एक व्यापारी पक्राउ परेका थिए । 

प्रतिक्रिया दिनुहोस्