दाङ : तालिम प्राप्त गोताखोरले मंगबार दिनभर खोज्दा पनि तालमा डुबेर बेपत्ता भएका लक्ष्मण डिसीलाई फेला परेका छैनन् । उनी फेला पर्न नसकेपछि ताल पूरै सुकाउने तयारी गरिएको छ ।
दाङका प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले मंगलबार रातभरमा ताल सुकाउने बताए । ‘तालिम प्राप्त गोताखोरले रबर बोटको प्रयोग गरी मंगलबार दिनभर खोजी गर्दा पनि डिसीलाई फेला पार्न सकिएन,’ एसपी पाण्डेले भने, ‘अब ताल पूरै सुकाउनुको विकल्प छैन।’
रातभर थप पम्पसेट र मोटर चलाएर भए पनि बुधबार बिहानसम्ममा तालको पानी सबै सुकाउने गर प्रयास गरिने उनले बताए । यो बीचमा आधा दर्जन जति पम्पसेट र मोटरबाट निरन्तर पानी तान्दै आएको भए पनि तालको पानी सुकेको छैन ।
नजिकै रहेको एउटा तालको डिल भत्काउँदासमेत पानी नसुकेको प्रहरीले जानकारी दिएको छ । घोराही उपमहानगरपालिका १५ बस्ने १८ वर्षीय डिसी आइतबार दिउँसो तालमा डुबेर बेपत्ता भएका थिए ।