कानूनसम्मत सेवा सुविधा उपलब्ध गराउन निर्देशन



काठमाडौँ । धितोपत्र बोर्डले कानूनसम्मत तरिकाले कर्मचारीको सेवा तथा सुविधा उपलब्ध गराउन धितोपत्र व्यवसायीलाई निर्देशन दिएको छ । 

 

कतिपय व्यवसायीले कर्मचारीको सेवा, शर्त, विनियमावली नबनाएको, न्यूनतम तलब तथा सुविधासमेत नदिएको पाइएपछि बोर्डले आज एक निर्देशनमार्फत कानूनसम्मत तवरले सेवा सुविधा उपलब्ध गराउन आग्रह गरेको हो । 

 

कर्मचारीलाई कानून र प्रक्रिया नपुर्‍याइ काममा लगाएको, न्यूनतम योग्यतासमेत नपुगेका कर्मचारी राखिएको भन्ने गुनासो बोर्डमा आएकाले त्यस्तो निर्देशन दिनुपरेको बोर्डका प्रवक्ता नीरज गिरीले जानकारी दिए । 

 

सरकारले हालै तोकेको न्यूनतम पारिश्रमिक सम्बन्धी कानूनी व्यवस्थाको केन्द्रमा रही योग्यता र विशिष्टताका साथै वित्तीय क्षेत्रमा प्रदान गरिएको औसत सेवा सुविधालाई दृष्टिगत गरी न्यूनतम पारिश्रमिक उपलब्ध गराउन बोर्डले सबै धितोपत्र व्यवसायी, मर्चेन्ट बैंकलाई निर्देशन दिएको छ ।

 

 यस्तै कार्यरत कर्मचारीलाई अनिवार्यरुपमा निजको जिम्मेवारी तथा सेवा शर्त खुल्ने गरी नियुक्ति गर्न, पारिश्रमिक बैंक खातामार्फत भुक्तानी गर्नसमेत बोर्डले आग्रह गरेको प्रवक्ता गिरीले जानकारी दिए। 

 

कानूनीरुपमा पूरा गर्नुपर्ने प्रावधान पूरा गरी त्यसको जानकारी ४५ दिनभित्र बोर्डलाई गराउनसमेत निर्देशन दिइएको छ । सरकारको निर्णयअनुसार गत साउन ३२ गते राजपत्रमा प्रकाशित व्यवस्था कार्यान्वयन गर्नसमेत बोर्डले धितोपत्र व्यवसायी र मर्चेन्ट बैंकलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्