नेकपामा विवाद, बैठक बस्नै सकेन



काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आन्तरिक विवादका कारण पटक–पटक स्थगित भइरहेको छ । आन्तरिक विवाद समाधान गरी मंगलबार सचिवालय बैठक बस्ने तय भए पनि अन्तिम समयमा स्थगित भयो । 

नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपा सचिवालय बैठक बुधबार बस्ने बताए । नेताहरुको आन्तरिक तयारी एवं कार्यव्यस्तताका कारण मंगलबारको बैठक स्थगित भएको उनले बताए । 

प्रदेश कमिटी गठन, केन्द्रीय सदस्यहरुको कार्यविभाजन, पोलिटव्युरो कमिटी गठन, जिल्ला एवं जनवर्गीय संगठनहरुको एकता लगायतका कार्यमा विवाद भएपछि समाधानका लागि पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई जिम्मेवारी दिइएको थियो । 

नेकपाका एक नेताका अनुसार सोमबार बस्ने बैठक मंगलबार सारियो तर मंगलबारसमेत बैठक नहुनु मुख्य कारण नेताहरुबीचको विवाद नै हो । विवाद समाधन गरी टुंगोमा पुग्नेगरी छलफल गरेर बैठक बोलाउन अध्यक्षद्वयलाई जिम्मेवारी दिएको उनले बताए ।

पार्टीको केन्द्रीय कमिटि बैठक बस्न नसकेको बताउँदै यसअघि स्थायी कमिटि बैठकसमेत स्थगित भएको उनले बताए । आजको राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्