काठमाडौं : म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड र युभेन्टस च्याम्यिपन्स लिगको प्रिक्वार्टर फाइनलमा पुगेका छन् । मंगलबार राति भएको समूह चरणको पाँचौं खेलमा सिटीले फ्रान्सको ओलम्पिक लियोनलाई बराबरीमा रोक्दै अन्तिम १६ को यात्रा पक्का गर्यो ।
म्यान्चेष्टर युनाइटेडले भने स्वीट्जरल्याण्डको योङ ब्वइजलाई हराउँदै प्रिक्वार्टर फाइनलमा स्थान बनाएको हो ।
ओलम्पिक लियोनको मैदानमा भएको खेलमा सर्जियो एग्युरोले गोल गरेपछि सिटीले लियोनलाई २–२ गोलको बराबरीमा रोक्यो । पहिलो हाफ गोलरहित बनेको खेलको ५५औं मिनेटमा म्याक्सवेल कर्नेटले गोल गर्दै लियोनलाई अग्रता दिलाए ।
उनले मेम्फिस डिपेईको पासलाई गोलमा परिणत गरेका थिए । त्यसको सात मिनेटभित्रै एमेरिक लापोर्तेले सिटीका लागि गोल गर्दै खेल बराबरीमा पुर्याए ।
८१औं मिनेटमा पुनः डिपेईको पासमा गोल गर्दै कर्नेटले लियोनलाई अग्रता दिलाए । यसपटक पनि उनले डिपेईको पासमा गोल गरेका थिए । तर तीन मिनेट पनि बित्न नपाउँदै सिटीले सर्जियो एग्युरोको गोलमा पुनः बराबरी गर्यो ।
बराबरीसँगै सिटी समूह एफबाट पाँच खेलमा १० अंक जोड्दै प्रिक्वार्टर फाइनलमा पुग्यो ।
युनाइटेडले भने स्वीट्जरल्याण्डको योङ ब्वइजलाई १–० ले हराउँदै समूह उपविजेताका रुपमा प्रिक्वार्टर फाइनलमा पुगेको छ । मेराउने फेलानीले दोस्रो हाफको इन्ज्युरी समयमा गोल गरेपछि युनाइटेड एक खेल अगावै अन्तिम १६ मा स्थान बनाउन सफल भयो । समूह एफबाट युभेन्टस यसपनि प्रिक्वार्टर फाइनलमा पुगेको छ ।
युभेन्टसले स्पेनिस क्लब भ्यालेन्सिलाई १–० ले हरायो । युभेन्टसको जितमा मारियो मान्जुकिचले गोल गरेका थिए । रोनाल्डोको पासमा उनले गोल गरेका थिए ।