काठमाडौं : चार महिनाअघि बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर भीमदत्त–२ की निर्मला पन्तका पिता यज्ञराज पन्तको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ । उनमा मानसिक समस्याजस्तो लक्षण देखिएपछि उपचारका लागि राजधानी ल्याइएको थियो ।
कोही मानिस देखेपछि कुटपिट गर्न खोज्ने र एकहोरो बोल्ने गरेपछि उनलाई उपचार गर्न स्थानीय अस्पतालले सिफारिस गरेको भाइ ईश्वरदत्त पन्तले बताए । ३८ वर्षीय पन्तको सिआइसियु वार्डमा भर्ना गरी उपचार भइरहेको छ ।
उपचारपछि केही सुधार देखिएको पत्नी दुर्गा पन्तले बताइन् । चिकित्सकका अनुसार उनलाई अस्पतालको हाडजोर्नी, मेडिसिन र मानसिक रोग विभागले संयुक्त रुपमा उपचार गरिरहेको छ ।
अस्पतालका फिजिसियन डा. निरज बमले मेडिकल उपचारको पक्षबाट खास समस्या नभएको बताए । खुट्टामा फ्याक्चर भएकाले हाडजोर्नी विभागले उपचार गरिरहेको डा. बमले बताए ।
पन्तको उपचारमा संलग्न अस्पतालको मानसिक रोग विभागले मंगलबार उनको निगरानीपूर्ण उपचार गरिरहेको जनाएको छ। ‘एकदुई दिन हेरेपछि यसो भएको हो भन्ने यकिन हुन्छ । अहिले नै मानसिक रोगको निर्क्यौल भएको छैन,’ अस्पतालका मानसिक रोग विभाग प्रमुख डा। सरोजप्रसाद वझाले बताए । आजको नागरिक दैनिकमा समाचार छ ।