बीचमै पढाइ छाड्छन् चेपाङ विद्यार्थी



चितवन : भोटे गाउँ इच्छाकामना गाउँपालिकाको वडा नम्बर २ मा पर्छ । चितवनको पहाडी क्षेत्रमा रहेको उक्त गाउँमा चेपाङ जातिको मात्र बसोबास छ । 

गाउँमा शिशु कक्षादेखि ३ सम्म पढाइ हुने भोटे गाउँ आधारभूत विद्यालय पनि छ । जहाँ चेपाङ बालबालिका मात्र पढ्छन् । विकट क्षेत्र भएकाले बालबालिकालाई घरबाट विद्यालय आइपुग्न एक घण्टासम्म लाग्ने विद्यालयका प्रध्यानाध्यापक निमबहादुर बुढाथोकीले जानकारी दिए ।

गाउँमा २०४५ सालमा विद्यालय खोलिएको हो । प्रस्तावित विद्यालय खोलिएकै ठाउँमा २०४७ सालमा अहिलेको विद्यालय स्थापना गरिएको उनले बताए । स्थापना कालदेखि नै निमबहादुर विद्यालयमा कार्यरत छन् । 

सुरुका केही वर्ष विद्यालयमा २० जनाजति विद्यार्थी थिए । विद्यालय खुलेको पाँच वर्षपछि विद्यार्थीको संख्या ३० भन्दा माथि नै छ । ‘प्रायजसो ४०–४५ जना हुन्छन्,’ उनले भने, ‘३० भन्दा तल भएको छैन ।’

गाउँमै रहेको विद्यालयमा ३ कक्षासम्म पढ्ने विद्यार्थीको संख्या राम्रो भएको उनले सुनाए । यहाँबाट ३ पास गरेपछि भने इच्छाकामना गाउँपालिका–२ कै कल्याणटारमा रहेको जनप्रिय माविमा पढ्न जानुपर्छ । जहाँ पुग्न भोटे गाउँ विद्यालयबाट एक घण्टा हिँड्नुपर्छ ।

गाउँपालिकाकै अरू स्थानका बासिन्दा भोटे गाउँलाई ‘लेक’ भन्छन् । विकटमा रहेको चेपाङ बस्तीमा विकास हुन सकेको छैन । गाउँमा विद्यालय खोलिएका ३० वर्ष पुग्दा पनि चेपाङ समुदाय शिक्षामा अघि बढ्न नसकेको प्रध्यानाध्यापक बुढाथोकी बताउँछन् ।

भोटे गाउँमा १२ कक्षासम्म पढ्ने चेपाङ दुई जना मात्र भएको उनले बताए । यस्तै एसएलसी/एसइई गर्ने पाँच जना मात्र छन् । ‘३ कक्षा पास भएपछि कति त अर्को विद्यालय नै जाँदैनन्,’ उनले भने, ‘केही भर्ना भए पनि बीचमै पढाइ छाड्छन् ।’ आजको नागरिक दैनिकमा समाचार छ । 

प्रतिक्रिया दिनुहोस्