चितवन : दुर्लभ वन्यजन्तु गैंडा जहाँ त्यही पाइँदैन । मुख्य बासस्थल चितवनमा पनि गैंडा कि राष्ट्रिय निकुञ्जभित्र पाइन्छ।
निकुञ्जसँग जोडिएका वन क्षेत्रमा पनि गैंडा देखिन्छ । सुरवीर पोखरेलको घर चितवन निकुञ्जबाट निकै टाढा छ। वृक्षरोपण गरेर फस्टाउँदै गरेको ज्ञानेश्वर सामुदायिक वनबाट पनि दुई किलोमिटर परै छ उनको घर । तर गैंडा अचेल उनको घर पछाडि नै भेटिन्छ ।
पोखरेलले मंगलबार मध्याहन घर आडैमा रहेको बगैंचामा गैंडा देखे । उनको लागि यो नौलो घटना हैन । पछिल्लो दुई महिनायता उनको घरवरपर गैंडा डुल्दै आएको छ ।
‘कहिले राति देखिन्छ, कहिले बिहानपख । कहिले त दिनभर यतै बस्छ,’ भरतपुर महानगरपालिका १६ मंगलपुर शिवघाट घर भएका पोखरेलले भने । उनको घरदेखि पश्चिमको ज्ञानेश्वर र सेतीदेवी सामुदायिक वनमा गैंडा बढ्न थालेका छन् ।
‘सामुदायिक वनमा गैंडा बढेपछि चर्दैचर्दै नारायणगढ नजिकको नगरवनसम्म पुग्छन् । अचेल नारायणगढ नजिकका बस्तीमा पनि गैंडा देखिन्छ । हाम्रोतिर झन् दिउँसै बस्ने गरेका छन्,’ पोखरेलले भने ।
ज्ञानेश्वर सामुदायिक वनका पूर्व अध्यक्षसमेत रहेका पोखरेलका अनुसार पहिला पहिला गाउँमा हिउँद याममा मात्रै गैंडा आउँथ्यो । साग, आलु खाएर हैरान पाथ्र्यो । रातभर चरेर उज्यालो नहुँदै वन फर्कन्थ्यो ।
‘तर अचेल वर्षायाममा पनि गैंडा गाउँ आए । राति मात्रै नभए दिउँसो पनि यही बस्न थाले । ठूलो बस्ती छ । मान्छे र गाडीको लगातार आउजाउ हुन्छ । धन्न कुनै अप्रिय घटना भएको छैन । आजको कान्तिपुर दैनिकमा समाचार छ ।