कांग्रेसमा ध्रुवीकरण तिब्रः विधान आफूअनुकूल बनाउने प्रयास



काठमाडौं : पार्टी विधानका प्रस्तावित नयाँ प्रावधानलाई लिएर कांग्रेसभित्र ध्रुवीकरण सुरु भएको छ । संस्थापन पक्ष र संस्थापन इतरपक्ष १४ औं महाधिवेशनलाई लक्षित गरी आफ्नो अनुकूलको विधान बनाउने रणनीतिका साथ प्रस्तुत हुन थालेपछि ध्रुवीकरण सुरु भएको हो ।

पदाधिकारी संख्या बढाउने कि नबढाउने, तिनको निर्वाचन पद्धति के हुने, केन्द्रीय कार्यसमितिमा सभापतिलाई मनोनयन अधिकार कति प्रतिशत दिनेजस्ता विधानका प्रस्तावित नयाँ प्रावधानमा विवाद छ ।

कांग्रेसको संघीय संरचनासहितको विधान संशोधनको मस्यौदा आइतबारको केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत भइसकेको छ । त्यसमाथि बिहीबारको बैठकबाट छलफल सुरु हुँदै छ । बैठक अघि दुवै पक्ष आ–आफ्नो रणनीति तय गर्न जुटेका छन् ।

विधानका अधिकांश नयाँ प्रावधानप्रति संस्थापन इतरपक्षको असहमति छ । महामन्त्री पूर्णबहादुर खडका नेतृत्वको विधान मस्यौदा समितिले बहुमतबाट ल्याएको मस्यौदामा केन्द्रीय कार्यसमिति ८५ सदस्यबाट बढाएर १ सय ३१ सदस्यीय हुने प्रस्ताव गरेको छ । तर, पदाधिकारी संख्या यथावत् राखेको छ ।

सभापतिको प्रस्तावमा केन्द्रीय कार्यसमितिले पदाधिकारी अनुमोदन गर्ने पुरानै व्यवस्था राखिएको छ । सभापतिलाई २५ प्रतिशत केन्द्रीय सदस्य मनोनयन गर्न पाउने अधिकार दिइएको छ । यी प्रावधानप्रति संस्थापन इतरपक्षको फरक मत छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्