जनकपुरधाम : जनकपुरधामको छवि धार्मिक र सांस्कृतिक नगरीका रूपमा विश्वविख्यात छ । थुप्रा धार्मिक र पौराणिक कथाहरूमा यस भूमिको महिमा वर्णण गरिएको छ । विद्वान र विदुषीको यो भूमि विश्वकै ज्ञानगुनको केन्द्र थियो भन्ने उदाहरण दिइँदै आएको छ ।
तर, केही वर्षयता जनकपुरको एउटा फरक परिचय पनि स्थापित भएको छ त्यो हो भट्ठी नै भट्ठी भएको सहर ।
‘जनकपुरका कुनै पनि चोक, सडक र गल्ली छैनन् जहाँ रेस्टुरेन्ट नहोस्,’ स्थानीय श्याम गिरी भन्छन्, ‘कुनै बेला रामनाम गुञ्जिने जनकपुरमा हिजोआज अश्लील भोजपुरी गीतको चर्को स्वरका बीच मदिरापान गर्नेहरूको सौख चुलिएको छ ।’
दशकअघिसम्म जनकपुरमा केही रेस्टुरेन्ट थिए । तिनमा सीताराम भोजनालय, रघुपती मिष्ठान्न भण्डार, भगीरथ होटल र केही फाटफुट शाकाहारी भोजनालय पनि थिए र छन् । तर, अहिले ती जम्मै भोजनालय ज्यूकाँ त्यूँ धानिएका छन् ।
केही समययता मांस र मदिरा बेचबिखन हुने रेस्टुरेन्टको संख्यामात्र बढेका छैनन्, थपिँदै जाने रेस्टुरेन्टमा ग्राहकको भीड पनि बाक्लै दखिने गरेको छ ।
शाकाहारीका लागि भोजन गर्ने ठाउँको अभाव भइरहेका बेला जनकपुरधामको पञ्चकोसी परिक्रमा क्षेत्रमै मांसाहारीका लागि मदिरासँगै मांसजन्य परिकार सजिलै पाइने गरेको छ । कानुनी र धार्मिक दृष्टिले जनकपुरधामको परिक्रमा क्षेत्रमा मांसमदिरा निषेधित छ । तर, यस क्षेत्रमा बिनाअनुमति सयौं मदिरा पसल सञ्चालनमा छन् ।
एक सरकारी अध्ययनकै अनुसार परिक्रमा क्षेत्रभित्र कानुनविपरीत ५ सय ५० भन्दा बढी मदिरा पसल छन् । मदिरा नै बिक्री गर्न खोलिएका पसलबाहेक जनकपुरका पान पसल र किराना पसलमा समेत स्वदेशी मदिरा उपलब्ध हुने गरेको छ ।
परिक्रमा क्षेत्रभित्रका होटल खाना खुवाउने प्रयोजनले खोल्ने अनुमति लिए पनि तीमध्ये प्रायः सबैमा स्वदेशी र विदेशी मदिरा बिक्री हुने गरेको छ । जनकपुर उपमहानगरपालिका र घरेलु कार्यालयमा भने ती होटलले खाना खुवाउने भनेरै दर्ता गरिएका छन् ।
अझ यस्ता होटलहरू विद्यालय र अस्पतालजस्ता अतिसंवेदनशील क्षेत्रमा समेत छन् । जनकपुरका मन्दिर, तालतलैया आदि धार्मिक धरोहरका वरपर छयास्छयास्ती मदिरा पसल छन् ।
केही समयअघि जनकपुरको नाम विधिवत फेरिएको छ । जनकपुरबाट जनकपुरधाम भएको छ । तर, नामको पुच्छरमा धाम झुन्डयाइए पनि पनि व्यवहारमा धर्मिक पवित्रता कायम हुन नसकेको जनकपुरधामवासीको बुझाइ रहेको छ ।
अनुमतिपत्र दिने निकायले अनुगमन र कारबाही नगरिदिँदा परिक्रमा क्षेत्रमा मांसमदिरा बेचबिखनलाई निरुत्साहित गर्न सकिएको छैन । जनकपुरधाम– ४ निवासी पंकज कापड भन्छन्, ‘अनुगमनका लागि अधिकारप्राप्त अधिकारीलाई दर्ता प्रमाणपत्र दिने बेलामै थाहा हुन्छ कि परिक्रमा क्षेत्रमा भोजनमात्र होइन रक्सीमासुका लागि दर्ता लिइँदैछ ।
तर, दर्ता प्रक्रियाबाटै सुरु हुने घुसको लेनदेनका कारण नगरपालिका वा घरेलु कार्यालयजस्ता सरोकारवाला निकायले अनुगमन गर्दैनन् ।’
उपमहानगरपालिकामा परिणत हुँदा १६ वटा वडा रहेको जनकपुरधाममा २५ वडा कायम गरिएको छ । जनसंख्याको हिसाबले सबैभन्दा ठूलो वडा रहेको ४ मा झन्डै एक सयको हाराहारीमा मदिरा पसल छन् ।
यसै वडाको परिक्रमा सडकमा ५० भन्दा बढ़ी दारु पसल गैरकानुनी रूपमा सञ्चालित छन् ।
मदिरामुक्त जनकपुर अभियानका अभियन्ता जनकपुरधाम ४ निवासी मुरलीमनोहर मिश्रका अनुसार सर्वोच्च अदालतले परिक्रमा क्षेत्रभित्र मदिराजन्य पदार्थ बिक्रीवितरण र सेवनमा रोक लगाए पनि यसको कार्यान्वयनमा सरकारी निकाय चुकेका छन् ।
‘मेयरसँग नजिकका व्यक्तिहरूले नै परिक्रमा क्षेत्रभित्र अझ मन्दिर वरपर नै गैरकानुनी रूपमा मदिरा पसल खोलेका छन् । यसबाट धामको पक्षमा वकालत गर्ने मेयर अनभिज्ञ त पक्कै छैनन् होला,’ मिश्रले भने, ‘सरोकारवालाले कान थुन्दासम्म मदिरामुक्त जनकपुरधाम एउटा रुमानी कल्पनामात्र हो ।’
यत्रतत्र रक्सीमासुकै पसल भएपछि जनकपुर आउने भारतीय तीर्थयात्रीहरू यहाँका होटलमा खाना खान परहेज गर्न थालेका छन् । ‘आफ्नै दालचामल, दाउरा, चुल्हा र भाँडाकुँडा बोकेर खाना पकाउने अनि खाने भारतीय पर्यटकको प्रवृत्ति यहाँका होटलहरूमा पाइने मांसमदिराकै परिणाम हो,’ स्थानीय कुन्दन झा भन्छन् ।
भारतीय पर्यटकको संख्या बढाउन र उनीहरूबाट जनकपुरधाममा खर्च हुने अपेक्षा पूरा गर्न यहाँ शाकाहारी भोजनालयको संख्या बढाउनुपर्ने र मांसमदिरा बिक्री तथा सेवनमा रोक लगाउनुपर्ने झाको भनाइ छ ।