बैठक नबस्दा दाहाल दिक्क



काठमाडौं : कुनै पनि पार्टीमा केन्द्रीय निकायको बैठक शीर्ष नेतृत्वको क्रियाशीलता र आह्वानमा बस्छ । तर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा भने अध्यक्षले नै पार्टीभित्र नियमित बैठक बस्न नसकेको भन्दै दिक्दारी व्यक्त गरेका छन् । पार्टी एकीकरणपछि दुईवटा अध्यक्ष रहेको उक्त पार्टीमा अध्यक्ष पुष्पकमल दाहालले पार्टी बैठक बस्न नसकेको भन्दै दिक्दारी व्यक्त गरेका हुन् ।

 

पार्टीका अर्का अध्यक्ष केपी ओली प्रधानमन्त्रीका रुपमा व्यस्त छन् । अर्कातिर कमजोर स्वास्थ्य अवस्थाले पनि उनलाई साथ दिइरहेको छ्रैन । यही बेला केन्द्रीय सदस्यहरुको कार्यविभाजन, पोलिटब्युरो गठन, एकीकृत संरचनाअन्तर्गत प्रदेश कमिटीहरुलाई पूर्णता केकसरी दिनेलगायतका विषयमा विवाद बढ्दा पनि शीर्ष नेतृत्वमा तनाव थपिएको बुझिएको छ ।

पार्टीभित्र विवादको घेरा बढ्दै गएको तर निकास दिन नियमित बैठक बस्न नसकिरहेको गुनासो लिएर केही केन्द्रीय सदस्य मंगलबार अध्यक्ष दाहाललाई भेट्न पुगेका थिए । उनीहरुले नियमित बैठक र छलफल हुनुपर्ने विषय उठाउँदै दाहालको ध्यानाकर्षण गराएका थिए । त्यसपछि दाहालले बैठक किन बस्न सकिरहेको छैन, कारण त खुलाएनन् तर बैठक बस्न नसक्दा आफूलाई समेत दिक्क लागेको आशय व्यक्त गरेको भेटमा सहभागी एक केन्द्रीय सदस्यले बताए ।

यसअघि नेकपा केन्द्रीय सचिवालयको सोमबार बस्ने भनेको बैठक गृहकार्य नपुगेको भन्दै स्थगित गरिएको थियो । त्यसपछि बैठक बस्न सकेको छैन । आज बुधबार ४ बजेका लागि बैठक बोलाइएको छ । सोमबारको बैठकले केन्द्रीय सदस्यको कार्य विभाजन टुंगो लगाउने, प्रदेश कमिटीहरुलाई पूर्णता दिने कार्यसूची थियो ।

दाहाललाई भेट्न पुगेका २२ केन्द्रीय सदस्यले केन्द्रीय समितिको बैठक माग गर्दै ज्ञापनपत्र बुझाएका थिए । 

प्रतिक्रिया दिनुहोस्