फेरि सुरु हुँदै द कपिल शर्मा शो, शाहरुख पहिलो पाहुना



काठमाडौं : लोकप्रिय भारतीय टेलिभिजन कमेडी कार्यक्रम द कपिल शर्मा शो फेरि सुरु हुने भएको छ । कपिल शर्माले सञ्चालन गर्ने उक्त कार्यक्रमको टिजर सोनी टेलिभिजनले हालै सार्वजनिक गरेको छ । नयाँ संस्करणको पहिलो कार्यक्रममा अभिनेता शाहरुख खानको साथमा अभिनेत्रीहरु कट्रिना कैफ र अनुष्का शर्मा पाहुना बन्ने सञ्चार माध्यमहरुले जनाएका छन् । 

 

शाहरुख, कट्रिना र अनुष्का अभिनित फिल्म ‘जिरो’ २१ डिसेम्बरमा रिलिज हुँदैछ । सोही फिल्मको प्रमोसनका लागि यी तीनैजना कलाकार कपिलको कार्यक्रममा सहभागी हुनेभएका छन् । यसअघि पहिलो एपिसोडको पाहुनाका लागि सलमान खानको नाम पनि सार्वजनिक भएको थियो ।

 

यसअघि द कपिल शर्मा शो बन्द भएपछि कपिलले गत मार्चमा ‘फ्यामिली टाइम विद कपिल’ बाट टेलिभिजनको दुनियाँमा फिर्ता हुने कोसिस गरेका थिए । तीनवटा शृंखला प्रस्तुतिपछि उक्त कार्यक्रम बन्द भएको थियो । कार्यक्रम बन्द हुनुमा कपिलको बिग्रँदो स्वास्थ्य र गैराव्यावसायिक व्यवहारलाई कारणका रुपमा बताइएको थियो । कपिलले आफू स्वस्थ भएपछि चाँडै नै टेलिभिजनमा फिर्ता हुने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्