चोरी आरोप लागेपछि रणवीर कपुरकी बहिनीले माफी मागिन्



बलिउड अभिनेता रणवीर कपुरकी बहिनी रिद्धिमा कपुर साहनीमाथि एक झुम्काको डिजाइन चोरेको आरोप लागेको छ । यसका लागि डिजाइनरका तर्फबाट माफीसमेत मागिएको छ ।

 

एक इन्स्टाग्राम प्रयोगकर्ताले आफ्नो पेजमा मोती र हीराले बनेको झुम्काको फोटो पोस्ट गरे । उक्त डिजाइनलाई रिद्धिमा कपुरको ब्रान्ड भएको बताइएको थियो । तर इन्स्टाग्राम प्रयोगकर्ताले उक्त झुम्का रिद्धिमाले डिजाइन नगरेको बताउँदै जापानी गहना डिजाइनर मिकिमोतो कोकिचीको जुलरी ब्रान्डबाट चोरी गरिएको दाबी गरे । रिद्धिमाले जुन तस्बिर सेयर गरिन् त्यो पनि मिकिमोतोको वेबसाइटबाटै लिइएको प्रयोगकर्ताले दाबी गरे ।

मिकिमोतो कोकिची मोतीका गहनाका जापानी डिजाइनर एवं मिकिमोतो ब्रान्डका संस्थापक हुन् । उनलाई ‘किंग अफ पर्ल’ को नामले पनि चिनिन्छ । सबैभन्दा पहिले मोतीलाई आकार दिएर त्यसलाई गहना बनाउने श्रेय उनैलाई जान्छ ।

 

यस्तो दाबी सार्वजनिक भएपछि रिद्धिमाका तर्फबाट एक वक्तव्य जारी भएको छ । सोसल मिडियामार्फत जारी उक्त वक्तव्यमा रिद्धिमाका तर्फबाट भनिएको छ, ‘रिद्धिमा कपुर साहनी जुलरीले कुनै पनि प्रकारको बौद्धिक चोरीलाई प्रोत्साहन गर्दैन । मोतीका महान् डिजाइनर मिकिमोतो कोकिचीद्वारा डिजाइन गरिएको मोती र हीराको झुम्कालाई पोस्ट गर्ने बेला वास्तविक डिजाइनरलाई ट्याग नगरेका कारण हामी माफी माग्छौंं । हामी हरेक डिजाइनरको सम्मान गर्छौं र कहिले पनि उनीहरुको नक्कल र अपमान गर्दैनौंं । धन्यवाद ।’

रिद्धिमा गहनाको डिजाइन गर्छिन् । उनले बनाएको गहनाको बलिउड सेलिब्रिटीले पनि प्रमोट गर्ने र्छन् । उनी लगातार आफ्नो सोसल अकाउन्टमा आफ्नो ब्रान्डमा बनेको गहनाको तस्बिर सेयर गर्छिन् ।

प्रतिक्रिया दिनुहोस्