सुदूरका मुख्यमन्त्री भट्ट भन्छन्- ‘संघले काम गर्न नदिएको होइन’



डोटी: गाउँपालिका राष्ट्रिय महासंघको प्रदेशस्तरीय अधिवेशन डोटीको बुडरमा सुरु भएको छ । अधिवेशन  उद्घाटन गर्दै मुख्यमन्त्री त्रिलोचन भट्टले परम्परागत सोंचले संघीयता सफल हुन नसक्ने बताए ।

 

मुख्यमन्त्री भट्टले तीनै तहको सरकार मिलेर काम गरे मात्र संघीयताको सफल कार्यन्वयन हुने बताए । संघले काम गर्न नदिएको भन्ने प्रदेशको आरोप गलत भएको भट्टले जिकिर गरे । तीनवटै सरकार अधिकारसम्पन्न भएको र आवश्यकताअनुसार कानून बनाएर काम गर्नुपर्ने उनको भनाई थियो ।

 

कार्यक्रममा नेकपा नेता कर्ण थापा, सांसद घनश्याम खतिवडा, काँग्रेसका नेता भरतबहादुर खड्का, प्रदेशसभा सदस्य लालबहादुर खड्का, गाउँपालिका महासंघका अध्यक्ष होमनारायण श्रेष्ठ लगाएतले संघीय इकाईहरुबीच सहकार्य र समन्वय हुनुपर्ने बताएका थिए ।

 

अधिवेशनमा सुदूरपश्चिम प्रदेशका ५४ गाउँपालिकाका १ सय ६२ प्रतिनिधि सहभागी छन् । अधिवेशनमा सहभागि जनप्रतिनिधिहरूले जनअपेक्षा अनुरूप काम गर्न नसकेको बताएका थिए । चुनावमा गाउँगाउँमा सिंहदरबार भनेर नारा लगाए पनि सिमित कर्मचारी, स्रोत र कानून अभावले काम गर्न कठिनाई भएको उनिहरुको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्