लिम्बू भाषालाई सरकारी कामकाजको मान्यता



इलाम: इलामको माङ्सेबुङ गाउँपालिकाको लारूम्बामा आजदेखि ‘लिम्बू भाषा’लाई सरकारी कामकाजको भाषाका रूपमा प्रयोगमा ल्याइएको छ । लिम्बू समुदायको बाहुल्य रहेको लारूम्बामा सरकारी कामकाजको भाषाका रूपमा लिम्बू भाषालाई कार्यान्वयन गरिएको वडाध्यक्ष नेरन्द्र राईले जानकारी दिए ।

 

वडामा दोभाषे कर्मचारी नभए पनि ‘लिम्बू भाषा’ र ‘किराँत सिरिजङ्घा लिपि’ को आधार क्षेत्र भएकाले माङ्सेबुङबाटै सरकारी कामकाजमा ‘लिम्बू भाषा’ प्रयोग गरीएको राईले बताए । गत  कात्तिकमा सरोकारवालाको बैठकले नेपालमै पहिलोपटक ‘लिम्बू भाषा’ सरकारी कामकाजी भाषाका रूपमा प्रयोग गर्ने निर्णय गरेको थियो । उक्त वडामा ६० प्रतिशत लिम्बू र ४० प्रतिशत अन्य जातिको बसोबास छ ।

 

हालसम्म वडा र गाउँपालिकामा कोही पनि बहुभाषिक कर्मचारी नियुक्त भएका छैनन् । स्थानीय भाषा कामकाजी भाषाका रूपमा प्रयोग हुन थालेपछि गाउँपालिकासँग दोभाषे कर्मचारी नियुक्त गर्न माग गरिने राईले बताए । गाउँपालिकाबाट दोभाषे कर्मचारी नियुक्त नभएसम्म स्वयंसेवकका रूपमा दिलहाङ शेर्मा, इन्द्र आङदेम्बे, ललितचन्द्र फियाक, सञ्चहाङ साम्बहाम्फे र केशेहाङ्मा थेगिमले काम गर्ने  समितिले जनाएको छ ।

 

संविधानले स्थानीय भाषालाई सरकारी कामकाजी भाषाका रूपमा प्रयोग गर्न पाउने अधिकार स्थानीय सरकारलाई दिएको भए पनि आवश्यक जनशक्तिको अभावमा कार्यान्वयन नगरिएको गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गोले बताए ।

प्रतिक्रिया दिनुहोस्