म्याग्दीमा १३१ वर्ष पुरानो झोलुंगे पुल, जीर्ण भएपछि मर्मत संरक्षणको पहल



बेनी : म्याग्दी सदरमुकाम बेनीस्थित मंगलाघाट र हाँडेभीर जोड्न म्याग्दी खोलामाथि बनाइएको एक सय ३१ वर्ष पुरानो झोलुंगे पुलको मर्मत तथा संरक्षण गरिने भएको छ । १९४४ सालमा स्थानीय प्रविधि र स्रोतसाधन प्रयोग गरी बनाइएको उक्त पुल जीर्ण बनेपछि बेनी नगरपालिकाले मर्मत तथा संरक्षण थालेको हो । तत्कालीन समयमा बागलुङ गलकोटका लालप्रसाद शेरचनले लुकुर वनको काँचो फलाम र म्याग्दीको रुम गाउँका स्थानीयको पुलमा काम गर्ने सीप प्रयोग गरी झोलुंगे पुल निर्माण गराएका थिए ।

 

काँचो फलामलाई गोलमा तताएर कुटेर साङ्ले लट्ठा बनाएर खोलामा पुल निर्माण गरिएको थियो । अहिले जीर्ण अवस्थामा रहेको पुलको अब मर्मत सम्भार गरिने ज्येष्ठ नागरिक समाज म्याग्दीका अध्यक्ष नैनकुमार श्रेष्ठले बताए । 

 

अहिले पुलमा प्रयोग भएको साङ्ले लट्ठा सोही समयमा स्थानीय स्रोत र सीप प्रयोग गरी बनाइएका हुन् । तत्कालीन समयमा माथि र तल गरी दुईवटा साङ्ले लट्ठामा फलामको पाता राखेर एउटा काठको फल्याकमात्रै राखी झोलुंगे पुल बनाइएको थियो । 

 

शेरचनका नाति भीमप्रसाद शेरचनका दाजुभाइको पहलमा २०१४ मा उक्त पुलको स्तरोन्नति गरिएको श्रेष्ठले जानकारी दिए । ‘यो ठाउँमा पुल बन्नुअघि यस क्षेत्रमा कुनै पनि पुल थिएन, तत्कालीन गुल्मी र बागलुङमा अड्डा रहँदा म्याग्दी र पर्वतका स्थानीय सबैजसो यही बाटो भएर वारपार गर्थे । लामो समयसम्म म्याग्दीको म्याग्दीखोलापारिका स्थानीय र वारिका स्थानीय वारपार गर्ने मुख्य बाटो पनि यही बन्यो’, श्रेष्ठले भने ।

 

सदरमुकाम बेनीमा रहेको जिल्लाकै पुरानो उक्त पुलको मर्मतसँगै संरक्षण गर्न लागिएको बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले जानकारी दिए । 

मंगलबार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, प्राविधिक, जनप्रतिनिधिसहित टिबिएसयू पोखराका इन्जिनिीर सतीश राई, क्षेत्रीय प्रविधि सहयोग प्रदायक (आरटिएपी) का प्राविधिक संयोजक नरबहादुर सम्बाहम्फे, प्राविधिक अधिकृत श्रीधर भण्डारी नेतृत्वको टोलीले पुलको मर्मत र संरक्षणको लागि स्थलगत निरीक्षण गरेको छ ।

 

यो पुलको काठ कुहिएको र जालीसमेत तितरबितर हुन थालेपछि चालू आर्थिक वर्षमा मर्मतका लागि वडा कार्यालयको सिफारिसमा नगरपालिकाले तीन लाख बजेट विनियोजन गरेको वडा नं. ७ का अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बताए । उनले प्राविधिकको सल्लाहबमोजिम पुलको स्वरुप नबिग्रने गरी मर्मत र संरक्षण गरिने जानकारी दिए । 

रासस

प्रतिक्रिया दिनुहोस्