किन र कसरी हुन्छ अल्सर ?



अल्सर ग्यास्ट्राइटिसको समस्याले निम्त्याउने रोग हो । अल्सरकै कारण क्यान्सरको भय पनि हुन्छ । खराब खानपानका कारण धेरै नेपाली ग्यास्ट्राइटिसका रोगी छन् । त्यसमध्ये कतिपय अल्सरले ग्रस्त छन् । अल्सरलाई सामान्य रुपमा लिइयो भने त्यसले क्यान्सरको जन्म दिन्छ ।

 

अल्सर के हो त ?

यो पेट वा सानो आन्द्रामा हुने संक्रमण, घाउ वा प्वाल हो । अर्थात यसै अवस्थालाई अल्सर भन्ने गरिन्छ । चिकित्सकीय भाषामा यसलाई पेष्टिक अल्सर वा ग्यास्ट्राइटिस अल्सर भनिन्छ । जब हाम्रो पेटलाई खाना पाचन गराउने एसिडबाट बचाउने बाक्लो पत्र म्युकस पातलो हुन्छ त्यसपछि अल्सरको संक्रमण हुन्छ । पाचन गराउने एसिडले आन्द्रामा घाँउ बनाउँछ जसलाई अल्सर भनिन्छ ।

 

चिकित्सकका अनुसार पेटमा हेलियो ब्याक्टर पायलोरी नामक ब्याक्टेरियाको संक्रमणले हुन्छ । यस बाहेक चिकित्सकको सल्लाहबिना आफ्नै सुरले लगातार लामो समयसम्म दुखाई कम गर्ने गोली खानाले पनि पेटमा घाउ वा फोरा पर्छ र अल्सर हुन्छ । पेटको अल्सरबाट बच्नको लागि कैयौं सावधानी आवश्यक पर्छ । सामान्य रुपमा भन्नुपर्दा ग्यास्ट्राइटिसको समस्या बिग्रँदै गएर पेटको अल्सर हुने गर्छ ।

 

अल्सर भएमा के खाने ?

पेटमा अल्सर हुने अवस्थामा बिरामीलाई एन्टियोबायोटिक्स लामो समयसम्म चलाइन्छ साथै एसिड ब्लकर्स पनि दिइन्छ । यस बाहेक नियमित सादा भोजन आवश्यक छ ।

सादा खानेकुराले अल्सर पैदा गर्ने ब्याक्टेरियाबाट लड्न मद्दत मिल्छ । बन्दागोभी, काउली, मुला, स्ट्रबेरी, चेरी, ब्रोकाउली, हरिया सागसब्जी, दही, मह, लसुन, ग्रीन टि , बेसार मिसाएको दुध आदि खानु राम्रो हुन्छ । यी खाद्यपदार्थले शरीरको रोग प्रतिरोधी प्रणालीको सुरक्षा पनि गर्छ भने शरीरलाई संक्रमणबाट लड्न सक्रिय बनाउँछ ।

 

कसरी गर्ने अल्सरको उपचार ?

जो मानिसहरुलाई पेटमा अल्सर हुन्छ उनीहरुलाई पेटबाट एसिड बाहिर उछालिएर आउने समस्या हुन्छ । उनीहरुलाई अमिला खानेकुरा खान र पिउन निषेध गर्नुपर्छ । खासगरि कफी, चकलेट, पिरो र मसालेदार खाना, मदिरा, टमाटर र कागती जस्ता अमिलो खानेकुरा खानु हुँदैन । त्यस्तै खाना धेरै खाने, सुत्ने र खाना खाने समयबीच कम अन्तर राख्ने गर्नुहुँदैन ।

प्रतिक्रिया दिनुहोस्