काठमाडौं : प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा मंगलबार मुख्यमन्त्री कार्यालयले पत्रकार सम्मेलन गर्यो । पत्रकार सम्मेलनमा नेपालकी चर्चित नायिका रेखा थापाले सरकारको ‘मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ अभियान’ लाई सघाउने बताइयो ।
नायिका थापाको संस्था रेखा थापा फाउन्डेसनले अबदेखि बेटी पढाऊ बेटी बचाऊ अभियानमा सघाउने घोषणा गरेपछि प्रश्न उठ्यो, ‘के प्रदेश नम्बर २ को सरकारले नायिका थापालाई बेटी पढाऊ बेटी बचाऊ अभियानको सद्भावना दूत नियुक्त गरेको हो ?’
त्यसै पत्रकार सम्मेलनमा उपस्थित प्रदेश २ की प्रदेशसभा सदस्य रानी शर्मा तिवारी भन्छिन्, ‘हामी त कार्यक्रममै उपस्थित थियौं । हामीलाई दूत नियुक्त गरिएको बारे केही बताइएन । यो धोखा हो ।’
सद्भावना दूत नियुक्त गरिए वा नगरिएबारे आधिकारिक जबाफ दिने संस्था मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यस प्रश्नको जवाफ दिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी उपसचिव शान्ता नेपालले नायिका रेखा थापालाई सद्भावना दूत नियुक्त गरिएको स्पष्ट पारिन् ।
उनले द नेपालटप डट कमसँग बुधबार भनिन्, ‘नायिका थापालाई सद्भावना दूतको रुपमा सम्मान गर्दै अभियानका कार्यक्रममा सहभागी गराउने निर्णय गरिएको छ ।’ उपसचिव नेपाल मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ अभियानमा प्रत्यक्ष संलग्न छिन् ।
राष्ट्रिय जनता पार्टी नेपालबाट प्रदेशसभामा प्रतिनिधित्व गरिरहेकी तिवारीले सरकारको यस निर्णयविरुद्ध प्रदेशसभामा आवाज उठाउने बताईन् । तिवारीका अनुसार मंगलबार औपचारिक कार्यक्रम हुनुअघि नायिका थापालाई सद्भावना दूत बनाउनेबारे अनौपचारिक छलफल भएको थियो ।
छलफलमा चर्को विरोध भएपछि नायिका थापालाई दूत नबनाउने निर्णय गरिएको थियो । प्रदेश २ को महत्वाकांक्षी अभियानकाको सद्भावना दूतका लागि अन्य प्रदेशबाट सहभागी गराइएकोमा असन्तुष्टि जनाउँदै तिवारीले भनिन्, ‘प्रदेश २ मा राम्रा कलाकार छैनन् र ?’
उनले थपिन्, ‘यस प्रदेशको भाषा, संस्कृति केही पनि नबुझेको व्यक्तिलाई दूत बनाउनु साटो सरकारले आफ्नै प्रदेशका कुनै कलाकारलाई अवसर दिनुपथ्र्यो ।’ प्रदेश २ मा पनि थुप्रै चर्चित अनुहार रहेका तर सरकारको नजर ती अनुहारमा अहिलेसम्म नपरेको उनको भनाइ छ ।
पर्साको पोखरिया नगरपालिकाकी उपमेयर सलमा खातुनको तर्क पनि प्रदेशसभा सदस्य तिवारीकै तर्कसँग मिल्दोजुल्दो छ । उपमेयर खातुनले पनि सदभावना दूत प्रदेश २ कै कुनै कलाकारलाई बनाइनुपर्ने बताइन् । स्थानीय कलाकार नै सक्षम रहेको अवस्थामा अरु प्रदेशकालाई यो अवसर दिन नहुने उनको भनाइ छ ।
अभियानमा सहयोग गर्न चाहने जोकसैका लागि ढोका खुलै राख्नुपर्ने तर सरकारले बाहिरकालाई दूत नियुक्त गर्न नहुने उनको तर्क छ । ‘स्थानीय कलाकारले पनि ‘डिजर्भ’ गर्र्थे तर बाहिरियालाई दिइयो’, खातुनले भनिन् ।
सरकारको निर्णयबाट महिलाअधिकारकर्मी पनि खुसी छैनन् । सरकार निर्णयको आलोचना गर्दै महिला अधिकारकर्मी रीता साहले प्रश्न गरिन्, ‘मधेस आन्दोलनको समयमा कहाँ गएका थिए यी चर्चित अनुहारहरु ?’ यस क्षेत्रको संस्कृतिसँग परिचित नै नरहेको व्यक्तिलाई सद्भावना दूत नियुक्त गरिनु सरकारको अनुचित कदम रहेको उनको तर्क छ ।
मधेसमै थुप्रै चर्चित कलाकार रहेको बताउँदै उनले थपिन्, ‘सरकारले यो अवसर मधेसी मूलकै कुनै चर्चित कलाकारलाई दिनुपथ्र्यो ।’ नायिका थापाको आफू चेलीहरुलाई जगाउने अभियानमा लागेको भन्ने भनाइको जबाफ दिँदै साहले भनिन्, ‘के मधेसका चेलीहरु अहिलेसम्म सुतिरहेका थिए ?’
अधिकारकर्मी रणधीर चौधरीले पनि स्थानीय संस्कृतिमा भिजेको व्यक्तिलाई सद्भावना दूत बनाउनु उपयुक्त हुने बताए । उनले मुख्यमन्त्रीलाई सुझाव दिँदै भने, ‘हामीलाई प्रदेश २ मा रेखा थापा होइन, दुखनी राम चाहिएको छ ।’
नायिका थापालाई दूत नियुक्त गरिएको भन्दै सरकारको आलोचना बढ्न थालेपछि मुख्यमन्त्रीका निकटहरुले भने यो सूचना लुकाउन चाहेको आरोप पनि लागेको छ । मुख्यमन्त्रीनिकटका व्यक्तिहरुले नायिका थापालाई दूत नबनाइएको भन्दै गलत जानकारी दिइरहेको आरोप साहसहितका अधिकारकर्मीले लगाएका छन् ।