बिर्तामोडबाट सुरु भएको नेपथ्य कन्सर्ट भोलि धनगढीमा  



कैलाली : नेपाली लोक–आधुनिक सांगीतिक क्षेत्रमा विशिष्टता कायम गर्न सफल सांगीतिक समूह नेपथ्यले बिहीबार धनगढीमा आफ्नो प्रस्तुति देखाउने भएको छ ।

नेपथ्य ब्यान्डको धनगढीमा हुने लाइभ कन्सर्टको तयारी पूरा भएको कार्यक्रमका संयोजक दाताराम घिमिरेले जानकारी दिए । कन्सर्ट बेलुकी ५ बजे धनगढी रंगशालामा सुरु हुने भएको छ ।

मंसिरको पहिलो साता झापाको बिर्तामोडबाट सुरु भएको कन्सर्ट यात्रा धरान र बुटवलमा सम्पन्न भइसकेको छ ।

केही समयअघि काठमाडौं र सिक्किमका दर्शकसामु प्रस्तुत भइसकेको ब्यान्डले आफ्नो स्थापनाको २५औं वर्ष मुलुकका अन्य भागका संगीतप्रेमीसँगै पनि मनाउने उद्देश्यले यो कार्यक्रम तय गरेको हो ।

धनगढीमा द ताज इभेन्ट र म्यान्सन नेपालको आयोजना तथा दारी ग्याङ धनगढीको सहयोगमा कन्सर्ट आयोजना हुने भएको हो ।

नेपथ्यको पहिलो एल्बम ‘नेपथ्य’ देखि ‘ऐना झ्याल’ एल्बममा समावेश गीत सबै उमेर समूहका नेपालीमाझ लोकप्रिय छन् । 

धनगढीमा नेपथ्यको प्रस्तुति आठ वर्षपछि हुन लागेको हो । कन्सर्टमा ६ हजार दर्शक सहभागी हुने आयोजकको अपेक्षा छ । कन्सर्टमा टिकट दर एक हजार रुपैयाँ तोकिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्