२८ बिघा गाँजा र ८ बिघा अफिम खेती नष्ट



हेटौँडा: मकवानपुर जिल्ला प्रहरी कार्यालयले गाँजा तथा अफिम खेती नष्ट गर्ने कार्यक्रमअन्तर्गत मकवानपुर जिल्लामा २८ बिघा १० कट्ठा गाँजा र आठ बिघा अफिम खेती नष्ट गरेको जनाएको छ । यही मङ्सिर ९ गतेदेखि १५ सम्म कार्यालयले शुरु गरेको दोस्रो चरणको अभियानअन्तर्गत उक्त परिमाणमा गाँजा र अफिम खेती नष्ट गरिएको हो ।

 

कार्यालयबाट प्राप्त विवरणअनुसार जिल्लाबाट छुट्टाछुट्टै तीन वटा समूहमा खटिएको प्रहरी टोलीले जिल्लाको राक्सिराङ गाउँपालिका–९ को सानो टोड्के, वडा नं ८ को काँकडा, वडा नं ७ गर्लिङ र कैलाश गाउँपालिका–४ सर्सिङ र लिप्चेमा लगाइएका गाँजा खेती २८ बिघा १० कट्ठा र अफिम आठ बिघा नष्ट गरेको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहका अनुसार प्रहरी निरीक्षकको नेतृत्वमा सञ्चालित अभियानमा ६० प्रहरी परिचालित छन् ।

 

दोस्रो चरणको अभियानअन्तर्गत जिल्लाको विभिन्न स्थानमा २ सय २१ बिघा चार कट्ठा गाँजा तथा १ सय ७ बिघा जमिनमा लगाइएको अवैध खेती नष्ट गर्ने लक्ष्य रहेको प्रहरी नायब उपरीक्षक सिंहको भनाइ छ । अवैध गाँजा तथा अफिम खेती गर्ने स्थान अत्यन्त दुर्गम स्थानमा पर्नुका साथै यातायात मार्ग र सवारी साधनको पहुँच नभएको र जिल्लाको सदरमुकाम तथा प्रहरी प्रशासनको सहज पहुँचभन्दा धेरै टाढा रहेको हुँदा विगतदेखि गाँजाको खेती तथा उत्पादन हुने गरेको बताइन्छ ।

 

प्रहरीले गाँजा तथा अफिम फँडानी गर्नुका साथै स्थानीय जनतालाई लागुऔषधको उत्पादन, बेचबिखन र दुव्र्यसनविरुद्ध पर्चा पम्पलेट वितरण गरी जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्