
विराटनगर : मोरङको लेटाङ नगरपालिका घर भएका गुणराज ओझा नक्कली कम्पनी खोलेर ठगी धन्दा चलाएको आरोपमा पक्राउ परेका छन् ।
उनले विराटनगरमा तीनवटा घर भाडामा लिएर नक्कली विद्युत् परियोजना र बिजनेस म्यानेजमेन्ट ग्रुप खोलेर ठगी धन्दा चलाउँदै आएको प्रहरीले जनाएको छ । ओझालाई प्रहरीले मंगलबार राति विराटनगर–५ जामुनगाछीस्थित उनको ससुराली घरबाट पक्राउ गरेको हो ।
ओझाबाट ठगिएका ५० भन्दा बढी कर्मचारीले जिल्ला प्रहरी कार्यालय मोरङमा मंगलबार उजुरी दर्ता गराएका थिए । अदालतले पक्राउ पुर्जी दिएपछि ओझालाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले जानकारी दिए ।
ओझाविरुद्ध ठगी मुद्दा चलाउन अदालतबाट मंगलबार म्याद थप भएको प्रहरीले जनाएको छ । ओझाले नक्कली कम्पनी खडा गरेर अधिकृतदेखि पियनसम्मको पदमा ५० जना कर्मचारी नियुक्ति गरी तलब नै नदिई ठगेको खुलेको छ । तलबको साटो उल्टै नियुक्त गरिएका कर्मचारीबाट प्रतिव्यक्ति पाँच हजारदेखि एक लाख ३५ हजार रुपैयाँसम्म असुलेको पीडितले आरोप लगाएका छन् ।
पीडितले प्रहरीमा उजुरी दर्ता गराएको पत्तो पाएपछि ओझा विराटनगरबाट फरार भएका थिए । उनी ससुराली घर आएको सूचना पाएपछि उनलाई टिभी हेर्दै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।
आफू पूर्वराजा ज्ञानेन्द्र शाहको विश्वासपात्र रहेको बताउने ओझाले विराटनगर महानगरपालिका–४ कञ्चनबारी पश्चिम साझा मार्गमा ‘तमोर मेवाखोला जलविद्युत् आयोजना पब्लिक लिमिटेड र बिजनेस म्यानेजमेन्ट ग्रुप (बिएमजी)’ नामक नक्कली कम्पनीको कार्यालय खडा गरी ५० जनालाई विभिन्न मितिमा नियुक्ति दिएका थिए ।