पप्पुले ठेक्का बेचेको हुलाकी सडकको काम ठप्प



बाँके: पप्पु कन्स्ट्रक्सनको नाममा ठेक्का रहेको बहुप्रतिक्षित हुलाकी राजमार्ग अन्तर्गत बाँके खण्डको काम ठप्प भएको छ । नेपालगञ्जदेखि कटकुइयाँसम्मको ४४ किलोमिटरको हुलाकी सडक निर्माण ठेक्का पाएको पप्पुसँग सरकारको सम्बन्ध बिग्रिएसँगै निर्माणको काम प्रभावित भएको हो । पप्पुले यो ठेक्का रु ६० करोडमा गणपति कन्ट्रक्सनलाई दिएको छ ।

 

गणपतिले काम गरे पनि सरकारसँगको ठेक्का पप्पुकै नाममा रहेकाले हुलाकी सडकको काम प्रभावित भएको छ । पप्पुले अन्यत्र गरेको बदमासीको भरणपोषण यहीबाट गर्ने गरी केन्द्रबाट पत्र आएपछि जेठदेखि हुलाकी सडक कार्यालयले पैसा रोकेको छ । सरकारले पैसा रोकेसँगै पप्पुले गणपतिलाई आवश्यक रकम दिन नसक्दा निर्माण प्रभावित बनेको छ ।

 

सरकार र पप्पुबीचको लडाइँका कारण सदरमुकामसँग सडक सञ्जालमा जोडिने राप्तीपारिका बासिन्दाको सपना टाढा धकेलिएको छ । पैसा नपाएर काम रोकेको गणपति कन्ट्रक्सनका प्रमुख तुलसीराम भण्डारीले बताए । ठेक्का सम्झौताअनुसार २०७६ साउनमा काम सक्नुपर्ने सम्झौता छ ।

 

सन् २००७ मा भारतले हुलाकी बनाउने सम्झौता गरेको थियो । सन् २०१० मा आएर काम शुरु ग¥यो । पाँच वर्षमा पाँच प्रतिशत पनि काम नगरेर भारतीय ठेकेदार फरार भयो । त्यसपछि बल्ल सरकारले हुलाकीको काम अघि बढाएको थियो । यी सबै घटनाक्रम हेरिरहेका राप्तीपारिका स्थानीयले शुरु भएको काम रोकिँदा फेरि काम अलपत्र पर्ने हो कि भन्ने चिन्ता गरेका छन् । हुलाकी सडक कार्यालयका इञ्जिनीयर सुरेश चौधरीले पप्पुले विराटनगरमा बदमासी गरेकाले त्यो रकम यताबाट असुल्न पैसा रोकिएको बताए ।

 

पप्पुको धरौटी जफत

पप्पु कन्स्ट्रक्सनले धरौटीबापत बैंकमा राखेको रु नौ करोड ९० लाख सरकारले जफत गर्ने भएको छ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत सिक्टा सिँचाइ आयोजनाको डुडुवा शाखा नहर निर्माणको काम समयमा गर्न नसकेकाले उसले जमानतको रुपमा बैंकमा राखेको धरौटी रकम जफत हुने भएको हो ।

 

निर्माण कम्पनीले काम गरेकोभन्दा पेश्कीबापत लगेको रकम धेरै भए त्यो पनि फिर्ता गर्नुपर्ने हुन्छ । कामको मूल्याङ्कनका लागि पप्पुलाई पत्राचार गर्ने तयारी भइरहेको सिक्टा सिँचाइ आयोजनाका डिभिजनल इञ्जिनीयर प्रकाशबहादुर कार्कीले बताए । सिक्टा सिँचाइ आयोजनाका अनुसार डुडुवा शाखा नहर निर्माणका लागि पप्पुले रु आठ करोड ३७ लाख पेश्की लिइसकेको छ ।

 

डुडुवा शाखा नहर निर्माणको जिम्मा पाएको पप्पुले ठाउँठाउँमा नहर खनेकाले मूल्याङ्कन गर्न गाह्रो भएको बताए । पप्पुले डुडुवा नहर प्रणाली निर्माणको काम २८ महीनामा सक्ने गरी ठेक्का लिएको थियो । अवधि पूरा हुँदासम्म करीब सात प्रतिशत काम गरेपछि ठेक्का सम्झौता रद्द गरिएको आयोजनाका डिभिजन इञ्जिनीयर कार्कीले बताए ।

 

डुडुवा नहर निर्माणको काम २०७३ जेठदेखि शुरु गरी ४ पुस, ०७५ मा पूरा गर्ने लक्ष्य थियो । पप्पुले २३ दशकलब २ किलोमिटर डुडुवा नहर निर्माण र सिक्टाको मूल नहरलाई डुडुवा शाखा नहरसँग जोड्न रु ९८ करोड ८१ लाखमा ठेक्का पाएको थियो । नहर निर्माणपछि त्यस क्षेत्र आसपासका १६ हजार हेक्टरमा सिँचाइ सुविधा पुग्ने विश्वास गरिएको छ ।

 

यसैबीच, प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाअन्तर्गतको मूल नहरमा पानी छाड्न सरकारलाई निर्देशन दिए पनि आगामी वर्षात्सम्म पानी छोड्न नसकिने आयोजनाका डिभिजनल इञ्जिनीयर कार्कीले बताए ।

 

उनले मूल नहरमा पानी छोड्नासाथ भत्किने गरेकाले मर्मत नहुँदै पानी छोड्न नसकिने बताए ।  बाँकेको ४२ हजार हेक्टर जमीनमा सिँचाइ सुविधा पु¥याउने उद्देश्यले निर्माण भइरहेको राष्ट्रिय गौरवको आयोजना निर्माणमा ढिलाइ भएपछि ६५ हजार कृषक मारमा परेका छन् । डुडुवा नहर निर्माणको काम निर्धारित समयमा पूरा गर्न नसकेपछि पप्पु कन्ट्रक्सनसँगको ठेक्का सम्झौता तोडिएको सिक्टा सिँचाइ आयोजनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्