पत्रकार खसोग्गी हत्याका आरोपित साउदी राजकुमारविरुद्ध मुद्दा चलाउने तयारी



काठमाडौं : पत्रकार जमल खसोग्गीको हत्यामा संलग्न भएको आरोप लागेका साउदी राजकुमार मोहम्मद बिन सलमानविरुद्ध मुद्दा चलाउने तयारी भएको छ । पत्रकारको हत्यामा संलग्न भएको तथा यमनमा युद्ध अपराध गरेको आरोपमा उनीमाथि अनुसन्धान गर्नुपर्ने कुरा पनि उठेको छ । 

 

न्युयोर्कस्थित मानवअधिकारसम्बन्धी एक संस्थाले अर्जेन्टिनाका संघीय न्यायाधीश एरियल लिजोलाई साउदी राजकुमारमाथिको आरोपमा अनुसन्धानका लागि सोमबार आग्रह गरेको हो । मानवअधिकारसम्बन्धी संस्था ह्युमन राइट्स वाचका मध्यपूर्व तथा उत्तर अफ्रिका निर्देशक सराह ली विन्स्टनले अन्तर्राष्ट्रिय अधिकारवादी समूहले साउदी राजकुमारविरुद्ध अर्जेन्टिनामा मुद्दा दायर गर्ने तयारी गरेको हो ।

 

यही साता अर्जेन्टिनाको ब्युनस आयर्समा हुने जी २० सम्मेलनको उद्घाटन कार्यक्रममा साउदी राजकुमार पनि सहभागी हुने कार्यक्रम छ । त्यही भएर अर्जेन्टिनामै मुद्दा दायर गर्न लागिएको एजेन्सीहरुले जनाएका छन् । अर्जेन्टिनाको संविधानले युद्ध अपराध तथा यातनाविरुद्ध अन्तर्राष्ट्रिय न्यायलाई सुरक्षित गरेको छ । अर्जेन्टिनामा जुनसुकै स्थानमा जोकसैले युद्ध अपराध गरेको भए पनि ऊविरुद्ध मुद्दा चलाउन मिल्ने कानुनी व्यवस्था छ ।

साउदीका पत्रकार तथा लेखक खसोग्गीको हत्यामा मोहम्मदको संलग्नताबारे अन्तर्राष्ट्रिय मिडियाले प्रमाण सार्वजनिक गरेका छन् । तर पनि कहीं कतैबाट साउदी राजकुमारविरुद्ध कुनै पनि कारबाही सुरु भएको छैन भने अन्तर्राष्ट्रिय स्तरमा उनको आलोचना बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्