‘वायुसेवा निगमले अव ऋण पाउँदैन’



काठमाडौं: संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले नेपाल वायुसेवा निगमलाई प्रभावकारी बनाउँदै गन्तव्य स्थानको विस्तार गर्न सरकार लागि परेको बताएका छन् ।

 

निगमलाई कम्पनी मोडलमा लैजाने की रणनीतिक साझेदारीका रुपमा लैजाने भन्ने विषय छलफलकै चरणमा रहेको उल्लेख गर्दै मन्त्री अधिकारीले संसारका अन्य विमान कम्पनीसँग प्रतिष्पर्धी बनाउँदै लैजाने सरकारी योजना रहेको बताए ।  

 

काठमाडौंमा आज आयोजित साक्षात्कार कार्यक्रममा मन्त्री अधिकारीले अनियमितताको नाममा निगमलाई कमजोर पार्न नहुनेमा जोड दिए । वाइडबडीको विषय ‘हट केक’ जस्तै भएको भन्दै मन्त्री अधिकारीले २०७१ सालबाटै खरीद प्रक्रिया थालिएकाले सबै काम पहिले नै भएको दाबी गरे ।

 

निगम ऋणले डुकेको प्रसङ्गमा उनले सरकारले पैसा दिने नभई अब निगमनले कमाएर ऋण तिर्नुपर्ने बताए । वाइडबडी जहाज सञ्चालन नभएको भन्ने आरोप गलत भएको उनको भनाइ थियो ।

 

खरीद प्रक्रियामा संसद्को समिति र अख्तियारले छानबिन गरिरहेको तथा मन्त्रालयले छानबिनमा सहयोग गरिरहेको भन्दै उनले अनियमितता भेटिए सरकारले कारवाही गर्ने बताए । मन्त्री अधिकारीले भ्रमण वर्ष २०२० मा २५ लाख पर्यटक ल्याउन सक्ने क्षमता रहेको दाबी गर्दै कूल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान १० प्रतिशत पुर्‍याउने गरी काम गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्