काठमाडौं : नेता हृदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र राजनीतिक समूहले मंसिर २८ गते राजधानीमा बृहत् राजनीतिक बैठक गर्ने भएको छ । समसामयिक राजनीतिक परिस्थितिको मूल्यांकन र भावी कार्यदिशा तय गर्न बैठक आह्वान गरिएको समूहका अर्का नेता ईश्वरदयाल मिश्रले बताए । बैठकमा मधेसकेन्द्रित विभिन्न दलका असन्तुष्ट नेताहरू सहभागी हुने भएका छन् ।
मधेसकेन्द्रित छ राजनीतिक दल एकीकृत भएर राजपा नेपाल गठन भएपछि त्रिपाठी नेतृत्वको यो समूह अस्तित्वमा आएको थियो । समूहले तत्कालीन एमालेको चुनाव चिह्न सूर्यबाट छजना नेतालाई गत प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवार बनाएको थियो । जसमध्ये त्रिपाठी (नवलपरासी) र वृजेश गुप्ता (कपिलवस्तु) प्रतिनिधिसभामा निर्वाचित भएका थिए भने नवलपरासीबाट अजय शाही र कपिलवस्तुबाट धर्मबहादुर लाल श्रीवास्तव ५ नम्बर प्रदेशसभामा विजयी भएका थिए । समूहका तर्फबाट प्रतिनिधिसभाका दुई उम्मेदवार ईश्वरदयाल (कपिलवस्तु) र पशुपतिदयाल मिश्र (बाँके) पराजित भएका थिए ।
‘बैठकमा समूहको विस्तारबारे समेत छलफल हुनेछ,’ नेता ईश्वरदयालले भने, ‘बैठकमा ५० जनाभन्दा बढी नेता सहभागी हुनेछन् ।’ उनका अनुसार अहिले पश्चिम क्षेत्रका नेताहरूको सहभागिता रहेको समूहको आगामी बैठकमा देशभरिकै नेता सहभागी हुनेछन् । ‘तीमध्ये बढी पूर्वतिरका नेता हुन्छन्,’ उनले थपे ।
नेता ईश्वरदयालले बैठकमा मधेसी दलका असन्तुष्ट नेताहरू पनि सहभागी हुने बताए । उनले भने, ‘महन्थ ठाकुरदेखि उपेन्द्र यादवनिकटका नेताहरू बैठकमा आउनुहुनेछ ।’
राजपा नेपालले प्रदेश ५ मा स्थानीय तह निर्वाचन बहिष्कार गरी प्रदेश २ मा भने सबै निर्वाचनमा सहभागी भएपछि असन्तुष्ट त्रिपाठीलगायत तत्कालीन तमलोपाका केही नेताले स्वतन्त्र समूह गठन गरेका थिए । समूह तत्कालीन एमालेसँग केही बुँदे सम्झौता गरी सूर्य चिह्न लिएर चुनावमा होमिएको थियो । समूहका नेता त्रिपाठीले संसद्मा मधेसका सन्दर्भमा सरकारसमेतको आलोचना गर्दै आएका छन् ।