काठमाडौंमा प्रदेश २ का मुख्यमन्त्रीको आवास बनाइँदै



काठमाडौं : राजधानीमा प्रदेश २ को सम्पर्क कार्यालय बन्ने भएको छ । काठमाडौं उपत्यकाको भैंसेपाटीमा निर्माण हुने प्रदेश भवनमा प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि आवास तथा सचिवालय रहनेछन् । प्रदेश भवनका लागि दुई रोपनी जग्गा छुट्याइसकिएको सहरी विकास मन्त्री ईस्तियाक राईले बताए ।

राजधानीमा सबै प्रदेशका सम्पर्क कार्यालय राख्ने कार्ययोजनाअन्तर्गत भैंसेपाटीमा १९ रोपनी जग्गा छुट्याइएको छ । सबै प्रदेश भवनका लागि दुई–दुई रोपनी जग्गा छुट्याइएको र थप जग्गामा पार्किङ, कर्मचारी तथा सुरक्षाकर्मी आवासजस्ता संरचना बनाइने मन्त्री राईले जानकारी दिए । 

मन्त्री राईका अनुसार भवन निर्माणका लागि निर्णय भइसकेको र त्यसका लागि ५० करोड रुपैयाँ विनियोजन हुने प्रक्रिया सुरु भइसकेको छ । 

   

यसैगरी संविधानले मौलिक हकमै आवाससम्बन्धी अधिकार सुनिश्चित गरेकाले मन्त्रालयले कार्यविधि तयार गरी फुसछाना विस्थापन गरी सुरक्षित आवास निर्माणमा सघाउने भएको छ । 

कार्यविधिमा फुसछाना विस्थापन गरी जस्तापाताको छाना राख्न प्रतिपरिवार ५० हजार रुपैयाँका दरले दिइने उल्लेख छ । मन्त्री राईले फुसछाना विस्थापन भएपछि आगजनी हुँदा गाउँका गाउँ खरानी हुने समस्या न्यूनीकरण हुने बताए । 

राईले मन्त्रीका रूपमा पदभार सम्हालेपछि मन्त्रालयले बस्ती हस्तान्तरण कार्यक्रमसमेत अघि बढाएको छ । पहाडमा भूकम्पका कारण विस्थापितहरूको सुरक्षित ठाउँमा पुनर्वास र तराईमा बाढीको जोखिममा रहेकाहरूलाई अन्यत्र उपयुक्त ठाउँमा सार्न बस्ती हस्तान्तरण कार्यक्रम ल्याइएको मन्त्री राईले बताए ।

सुरक्षित आवास र बस्ती हस्तान्तरण कार्यक्रम दुवै पाइलट प्रोजेक्ट हुन् । सुरक्षित आवासका लागि एक अर्ब र बस्ती हस्तान्तरणका लागि २५ करोड रुपैयाँ विनियोजन गरिएको छ । ‘तर, आवश्यक्ता आधारमा यी दुवै कार्यक्रमका लागि बजेटमा बढोत्तरी हुन सक्छ,’ मन्त्री राईले बताए । 

मन्त्रालयले देशभरिका १ सय ८५ नगरपालिकासँग सहकार्य गरी हुलाकी सडक र मध्यपहाडी राजमार्ग क्षेत्रमा नयाँ सहर विकास गर्ने कार्यक्रम अघि बढाएको छ भने हिमाली क्षेत्रका १६ सहरमा पर्यटन विकासका भौतिक पूर्वाधार विकास गरिनेछ । जसका लगि पाँचवटा सहरको छनोट भइसकेको छ । 

मन्त्रालयले संसद् भवन निर्माण कार्य सुरु गर्ने भएको छ । देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारभित्र १ सय ७४ रोपनीमा निर्माण हुने संसद् भवनको नक्सांकन भइसकेको मन्त्री राईले बताए । 

मन्त्रालयले १ सय ९० रोपनी जग्गामा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी भवन बनाउनेछ । करिब पाँच हजार व्यक्ति अटाउने यो भवन काठमाडौंमा हुनेछ । त्यस्तै राजधानीमा १० वटा आवासगृह निर्माणका लागि समेत काम अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्