सिन्धुपाल्चोकमा जलवायु सम्मेलन हुने



चौतारा: सिन्धुपाल्चोकमा आगामी पुस दोस्रो साता जलवायु परिवर्तनसम्बन्धी राष्ट्रिय सम्मेलन हुने भएको छ । आगामी पुस १५, १६ र १७ गते मेलम्ची नगरपालिका–९ स्थित गुफाडाँडामा हुने तीन दिवसीय सो सम्मेलनमा ७७ जिल्लाका समन्वय समितिका सभापतिको सहभागिता रहनेछ ।

 

स्थानीय तहको गठन पश्चात् जलवायु परिवर्तन अनुकूल योजना बनाउने उद्देश्यले गरिने सो भेलामा विज्ञ समूहबाट जलवायु परिवर्तनसम्बन्धी कार्यक्रम प्रस्तुत हुनेछ । घोषणापत्र जारी गरेर सम्मेलन समापन हुने जिल्ला समन्वय समितिका सभापति कृष्ण गोपाल तामाङले जानकारी दिए ।

 

सम्मेलनमा विषयगत मन्त्रालयका मन्त्री सातवटै प्रदेशका मुख्यमन्त्री, प्रदेश ३ का मन्त्री, जिल्लाका सांसद, जिल्लाका नगरपालिका र गाउँपालिकाका प्रमुख तथा उपप्रमुख, विज्ञ समूह र प्रायोजक एजेन्सीका प्रतिनिधिको सहभागिता रहनेछ । जिल्ला समन्वय समिति राष्ट्रिय महासङ्घको आयोजनामा हुने सो सम्मेलनको जिल्ला समन्वय समिति सिन्धुपाल्चोक मुख्य व्यवस्थापक रहेको छ । सम्मेलनमा करीब रु ६४ लाख ४० हजार बजेट खर्च हुने बताइएको छ ।  

प्रतिक्रिया दिनुहोस्