एक सातादेखि छैन बिजुली, जनजीवन अस्तव्यस्त



बाँके : नेपालगञ्जमा एक हप्तादेखि विद्युत् अनियमित हुँदा जनजीवन प्रभावित बनेकाे छ । दिउँसाे र साँझको समय विद्युत् अनियमित हुँदा उद्योग व्यवसाय सञ्चालनमा कठिनाइ भएको छ । विद्युत् अनियमित हुँदा स्थानीय पत्रपत्रिका प्रकाशनमा समस्या देखिएको नेपालगञ्जस्थित त्रिपुरा प्रेसका सञ्चालक दीपक कठायतले बताए । ‘‘कतिबेला बत्ती आउँछ, कतिबेला जान्छ थाहै हुँदैन, छपाइको काममा ढिलाइ भइरहेको छ ।’’ उनले भने,“बत्ती नहुँदा न काम गर्न सकिएको छ न त राम्रोसँग सुत्न सकिएको छ ।” 

नेपालगञ्जमा विद्युत् अनियमित हुँदा उद्योग व्यवसायमा क्षति पुगिरहेको नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले बताए। नियमित विद्युत्का लागि पटक–पटक पहल गरिए पनि नियमित हुन नसकेको उनकाे गुनासो थियो । 

केन्द्रीय प्रसारण लाइनबाट विद्युत् अवरोध भएका कारण अहिले नेपालगञ्जमा दैनिक ८ घण्टासम्म विद्युत् अनिमित गर्नुपर्ने अवस्था आएको नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रका प्रमुख रामदुलार यादवले जानकारी दिए । कालीगण्डकी जलविद्युत केन्द्रको विद्युत् गृहमा नियमित मर्मत गर्नुपर्ने भएकाले केन्द्रीय प्रसारणमा अवरोध हुँदा नेपालगञ्जमा पनि समस्या भएको उनले बताए ।

बाँकेमा दैनिक २० देखि २२ मेगावाट विद्युुत आवश्यक पर्नेमा अहिले नेपालबाट पाँच र भारतबाट १० मेगावाट मात्र विद्युत् आपूर्ति भइरहेकाले पाँचदेखि ८ मेगावाट विद्युत् अपुग हुँदा असोज १२ गतेसम्म एक फिडरमा दैनिक दुई घण्टा सर्वसाधारणले सास्ती खेप्नुपर्ने अवस्था रहेको प्रमुख यादवले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्