काठमाडौं : नेपाल आयल निगमले इन्धन ढुवानी ट्यांकरमा सेक्युरिटी लकिङ सिस्टम जडान गरेपछि प्राविधिक नोक्सानी घटेको दाबी गरिरहँदा निगमको विराटनगर डिपोमा भने चुहावट बढेको छ । उक्त डिपोमा निगम सञ्चालक समितिले तोकेको लस टार्गेट (प्राविधिक नोक्सानी) को सीमा नाघेको हो ।
गत वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो चार महिनामै लस टार्गेट नाघेर करिब सबा करोड रुपैयाँको डिजेल र पेट्रोल चुहावट भएको तथ्य फेला परेको छ ।
आर्थिक वर्ष ०७४र७५ को तुलनामा चालु आर्थिक वर्ष ०७५र७५ को पहिलो चार महिना (कात्तिक) सम्म तुलना गर्दा डिजेलमा करिब दोब्बर प्राविधिक नोक्सानी (चुहावट) भएको छ । निगमले तापक्रम र ढुवानीका आधारमा लस टार्गेट सीमा तोकेको हुन्छ ।
गत वर्षको तुलनामा एक करोड ११ लाख रुपैयाँको डिजेल र २१ लाख ८८ हजार रुपैयाँको पेट्रोल चुहावट भएको निगमको तथ्यांकले पुष्टि गर्छ ।
गत वर्षको सोही अवधिमा लस टार्गेट ०.१९ प्रतिशत रहेकोमा यस वर्षको कात्तिकसम्म उक्त टार्गेट बढेर ०.३६ प्रतिशत पुगेको छ । गत वर्षसँग तुलना गर्दा यो अवधिमा निगमलाई लस टार्गेट ०.१७ बढी भएको छ ।
गत वर्षभन्दा एक सय १० केएल (एक लाख १० हजार लिटर) डिजेल बढी चुहावट भएको छ । यसलाई मूल्यमा रूपान्तरण गर्दा एक करोड ११ लाख रुपैयाँको डिजेल चुहावट भएको छ ।प्राविधिक चुहावटलाई बहाना बनाएर मिलेमतोमा अनियमितता हुने गरेको छ । आजको नागरिक दैनिकमा समाचार छ ।