त्रासले घरमा सुत्दैनन् निर्मलाका दिदीबहिनी



कञ्चनपुर : टिनले छाएको एकतले घरअगाडि बरन्डामा प्लास्टिकको कुर्सीमा १५ वर्षीया मनीषा पन्त टोलाएर बसिरहेकी थिइन् । एकैछिनमा छेउको घरमा गएकी ११ वर्षीया सरस्वती आइपुगिन् । बुधबार दिउँसो घरमा पुग्दा निर्मलाका दिदीबहिनी निरास देखिन्थे ।

‘आमा र बुबा काठमाडौं गएपछि हामी दुई दिदीबहिनी मात्र घरमा छौं’, दबेको स्वरमा मनीषाले भनिन्, ‘त्रासले घरमा सुत्न सक्तैनौं ।’ दिउँसो उज्यालोमा त उनीहरूलाई समय बिताउन त्यति कठिन हुँदैन । साँझ अँध्यारो हुन थालेसँगै उनीहरूको मुटुको धड्कन बढ्छ । छिमेकी भाउजू मञ्जु भट्टको घरमा गएर आश्रय लिन्छन् । 

‘दिउँसो उज्यालोमा जसोतसो हामी घरमा बसिहाल्छौं’, उनले भनिन्, ‘अँध्यारो भएपछि घरभित्रै डर लाग्छ । भाउजूको घरमा गएर सुत्ने गरेका छौं ।’ साँझ ६ बजेतिर उनीहरू मञ्जुकहाँ जान्छन्। राति त्यहीं सुत्छन् ।

आमा नहुँदा उनीहरूले राम्रोसँग खाना पनि खाएका छैनन् । ‘आफैं पकाएर खान्छौं । साँझ ढिलो भए खाना बनाउँदैनौं’, मनीषाले भनिन् । ‘साँझ यिनीहरूले घरमा पनि खाना बनाउँदैनन् । मैले पकाएर खाऊ भन्दा पनि मन लगाएर खाँदैनन्’, मञ्जुले भनिन्, ‘साँझ ६ बजेतिर मेरो घरमा आउँछन्, आएनन् भने म आफैं खोज्न जान्छु ।’

तीन बहिनीमा निर्मलालाई मिठो खाना बनाउन आउने भएकाले आमा यताउता हुँदा उनले पकाउने गरेको मनीषाले बताइन् । ‘बहिनीले खाना पकाउँथी । हामीले पकाउनु पर्दैनथ्यो’, उनले भनिन्, ‘अहिले हामीलाई खाना पकाउन गाह्रो हुने गर्छ ।’

बुबालाई सन्चो हुँदैछ भनेर आमाले फोन गरेको मनीषाले बताइन् । ‘कहिले घर आउने टुंगो छैन, सन्चो भएपछि मात्र आउँछु भन्नुहुन्थ्यो’, उनले भनिन् । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्