काठमाडौं : ‘भूकम्पले त पीडा दियो दियो सरकारले थप पीडा नदिओस्’ प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिमा बुधबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद यज्ञराज सुनुवारले भने, ‘दाताहरुले शर्त राखी रकम दिने प्रक्रिया गलत छ, जसले जे भन्छ ती सबै मापदण्ड मान्न सकिँदैन ।’
सांसद् सुनुवारले स्थानीय तहलाई जिम्मेवारी दिए पुनर्निर्माणमा प्रभावकारिता आउने र वास्तविक पीडितले राहत पाउने बताए । उनले भारत सरकारले दिने भनेको १ सय अर्ब रुपैयाँबारे पनि पुनर्निर्माण प्राधिकरणलाई प्रश्न गरेका थिए ।
समितिले भूकम्पपछिको पुनर्निर्माणको कार्यप्रगति र आगामी कार्ययोजनाबारे जानकारी लिन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई बोलाएको थियो । ज्ञवालीले सांसदको प्रश्नको जवाफ दिँदै राजनीतिक र प्राविधिक समस्याका कारण समयमा नै सोचेजस्तो काम गर्न नसकेको स्वीकारे ।
‘सबै कुरा भनिरहनु पर्दैन, ती पहिलेका कुरा नगरौं तर अब पुननिर्माणले गति लिन्छ’ ज्ञवालीले भने, ‘ पहिलो कुरा प्राधिकरण गठन नै ढिलो भयो, कार्यविधि बनाउन समय लाग्यो, चाहिए जति बजेट नपाउँदा चाहेर पनि म एक्लैले केही गर्न सक्दिनँ ।’
ज्ञवालीले प्राधिकरणमा बसेर काम गरिरहेका कर्मचारीलाई सरुवा नगर्न र अन्त नपठाउन सरोकारवालालाई आग्रह गरे । ‘माननीयज्यूहरुको पनि यसमा सहयोग चाहिन्छ, कसले राहत पाउने हो र कसले पाउने होइन त्यसबारे पनि चासो राखिदिनुहोला’ उनले भने, ‘वडासम्म नै समिति बनाएर पुननिर्माणलाई गति दिने हाम्रो योजना हो । खबर आजको नेपाल समाचारपत्रमा छ ।