मुख्यमन्त्रीले बोलाएर होइन, आफैं आएकी हुँ : नायिका रेखा थापा



राैतहट : नेपाली चलचित्रकी चर्चित नायिका रेखा थापाले प्रदेश २ सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानको आफू सद्भावना दूत नरहेकी बताएकी छन् ।

 

प्रदेश सरकारले थापालाई स्थानीय कलाकार तथा सामाजिक फाँटमा क्रियाशील प्रदेशकै व्यक्तिलाई उपेक्षा गर्दै सरकारी कार्यक्रमको सद्भावना दूत नियुक्त गरेको भन्दै सामाजिक सञ्जालदेखि संसद्सम्म चर्को आलोचना भइरहेका बेला अभिनेत्री थापाले यस्तो स्पष्टोक्ति दिएकी हुन् ।

 

उनले प्रदेश सरकारको उक्त महत्वपूर्ण अभियानमा आफू सामाजिक अभियन्ताका रूपमा संलग्न भएकी उल्लेख गरिन् । प्रदेश सरकारले गत मंगलबार ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानका लागि रेखा थापा फाउन्डेसनमार्फत अभिनेत्री थापाले प्रदेशका आठवटै जिल्लामा सचेतनामूलक कार्यक्रम गर्ने जनाएको थियो ।

 

मुख्यमन्त्री मोहम्मद लालबाबु राउत स्वयं उपस्थित पत्रकार सम्मेलनमा प्रदेश सरकारको अभियानमा रेखाको संलग्नताबारे विस्तृत जानकारी गराइएको हो । त्यसयता अभियानसम्बद्ध अधिकारीहरूले अभियानका लागि थापा सद्भावना दूत रहेको बताएका छन् ।

 

थापा स्वर्णिम नेपालको सामाजिक अभियानअन्तर्गत बालविवाह र महिला हिंसाविरुद्धलगायत कार्यक्रम लिएर सन् २०१६ देखि देशका विभिन्न भूभागमा काम गरिरहेकी छन् । महिला सशक्तीकरण अभियान क्रममा कर्णाली क्षेत्रका केही जिल्ला, प्युठान, कपिलवस्तुलगायत ठाउँमा कार्यक्रम सञ्चालन गरिरहेकी उनले पछिल्लो समय प्रदेश २ का जिल्लालाई रोजेकी हुन् ।

 

मानव विकास सूचकांकमा प्रदेश २ का कतिपय जिल्ला कर्णाली क्षेत्रभन्दा पनि कमजोर अवस्थामा छन् । शिक्षाको दृष्टिले प्रदेशको रौतहट जिल्लाको स्थिति निकै दयनीय छ । रौतहटको परवाहा नगरपालिकामा बुधबारबाट ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानमा संलग्न भएकी थापाले बिहीबार बिहान नेपालटपसँग भनिन्, ‘मुख्यमन्त्री राउतको यो अभियान सारा नेपाली छोरीचेलीको भएकाले अभियानमा संलग्न भएकी हुँ ।’

 

उनले आफू प्रदेश २ मा मोडलिङ गर्न वा अरू केही उद्देश्यले नआएर विशुद्ध रूपमा महिला सशक्तीकरणमा योगदान पुर्याउन आएको बताइन् । थापाले प्रदेश २ को यस अभियानमा संलग्न हुन आफूले लामो समयदेखि मुख्यमन्त्री राउतलाई पछ्याएको बताइन् । उनले भनिन्, ‘म तराई मधेसकै छोरीचेली हुँ ।

 

आफ्नै ठाउँका दिदीबहिनीलाई सशक्त बनाउने अभियानमा संलग्न हुने चाहना लिएर दुई महिनादेखि मुख्यमन्त्रीज्यूको समय पर्खेर बसेकी थिएँ । समय पाएपछि अभियानमा संलग्न भएकी हुँ । मलाई मुख्यमन्त्रीले बोलाउनुभएको होइन, म आफैं आएकी हुँ ।’ उनले कुनै पनि ठाउँका महिलाको आत्मजागरण, आत्मनिर्भरताका लागि काम गर्नु अनुचित नभएको बताउँदै आफूले तराई मधेस समाजको संस्कार र परम्परा जानेको र त्यसअनुरूप नै सचेतना अभियानमा अघि बढ्ने थपिन् ।

 

उनले मुगुको चेलीले मधेसमा र जनकपुरको चेलीले बाजुरामा काम गर्छु भनेपछि त्यो वातावरण दिइनुपर्ने भन्दै विदेशी संघसंस्थाहरूसमेतले देशका विभिन्न भूगोलमा काम गरिरहेका बेला कुनै नेपाली नागरिकले काम नगरून् भन्ने बुझाइ गलत रहेको बताइन् । उनले भनिन्, ‘प्रदेशको कार्यक्रममा मेरो संलग्नताबारे भ्रम सिर्जना भयो ।

 

प्रदेश २ मा म सद्भावना दूत बन्न आएकी होइन । म काम गर्न आएकी छु । सकारात्मक परिणामको अपेक्षा लिएर आएकी छु ।’ बुधबार रौतहटको परबाहामा थापाको अगुवाइमा संकल्प बैठक सकिएको छ । बैठकमा स्थानीय जनप्रतिनिधि र अन्य सरोकारवालाहरूले बालविवाह तथा बालिका शिक्षा प्रवद्र्धन गर्न आधार र मापदण्ड निर्धारण गरेका छन् ।

 

बिहीबारबाट नगरपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत बालिकाको विवरण संकलन गरिने, नगरपालिका कार्यालयबाट तिनका विषयमा थप जानकारी बटुल्ने र बालिकाको पढाइका लागि आवश्यक कार्ययोजना तर्जुमा गरिने थापाले बताइन् । उनले भनिन्, ‘यस्तो प्रत्येक वर्ष अद्यावधिक गरिन्छ । जसले बालविवाहलाई निरुत्साहित गर्ने र बालिकाको सिकाइस्तर र कक्षोन्नतिमा निगरानी गर्न सकिन्छ ।’

 

प्रतिक्रिया दिनुहोस्