काठमाडौंः क्रिश्चियन धर्मको प्रचारको लागि आयोजना गरेको भनेर आलोचित बनेको एशिया प्याशिफिक समिटलाई लक्षित गरेर सरकारले आजदेखि जोर विजोर प्रणाली लागू गर्न लागेको भन्दै युथ काँग्रेसले आपत्ति जनाएका छन् ।
युथ काँग्रेस नेपालले बुधबार विज्ञप्ती जारी गर्दै १३ गते देखि १६ गते सम्मका लागि घोषणा गरिएको जोरविजोरको व्यवस्थालाई नमान्नको लागि अपिल गरिएको छ । राज्यको कार्यक्रम नभई अन्र्तराष्ट्रिय गैर सरकारी संस्थाले आयोजना गरेको कार्यक्रमका लागि राज्यले जनतालाई दुःख दिन खोज्नु आफुहरुलाई मान्य नभएको युथ काँग्रेसको भनाई छ ।
युथ काँग्रेसका राष्ट्रिय संयोजक सचिन तिमल्सेनाद्धारा जारी विज्ञप्तीमा भनिएको छ, राज्यसँग सम्वन्धीत कार्यक्रमका लागि मुलुकबासीले हरेक पटक जस्तोसुकै कष्ट सहेकै हो । तर अहिले अन्र्तराष्ट्रिय गैरसरकारी संस्थाले आयोजना गरेको आफैमा विवादित र शंकास्पद सम्मेलनका निम्ति आम नेपाली जनताले किन सास्ती बेहोर्ने ?
अन्र्तराष्ट्रिय गैससले आयोजना गरेको कार्यक्रमका लागि लागु गरिएको जोर विजोर प्रणालीलाई युथ काँग्रेसले राज्यको गैरजिम्मेबार कदम भनेको छ । सरकारको निर्णयलाई आफुहरुले अबज्ञा गर्ने घोषणा गर्दै युथ कंग्रेसले आम जनसमुदायलाई पनि जोरविजोर प्रणालीको अवज्ञा गर्न आह्वान गरेको छ । जिम्मेबार राज्यले गर्न नसुहाउने, रहस्यमय, शंकास्पद र अस्वभाविक यो निर्णयको अबज्ञा गर्नुहुन हामी आम जनसमुदायमा पनि आह्वान गर्दछौ, विज्ञप्तीमा लेखिएको छ ।