जनकपुरधामः प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ सरकारले आफ्नै शिक्षा नीति बनाउने बताएका छन् । बुधबार उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले जनकपुरमा आयोजना गरेको सुझाब संकलन तथा कार्यशाला कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले मुलुकको संविधानले आफ्नै शिक्षा नीति बनाउने अधिकार दिसकेको हुनाले प्रदेश २ सरकारले आफ्नै शिक्षा नीति बनाउने बताएका हुन् ।
कार्यक्रममा मुख्यमन्त्री राउतले प्रदेशको शैक्षिक अवस्था एकदम दयनीय रहेको भन्दै गुणस्तरीय शिक्षाको अभाव रहेको बताए । उनले भने, ‘प्रदेश २ मा गुणस्तरीय शिक्षा राष्ट्रिय शिक्षा नीतिले दिन सक्दैन् । त्यसकारण प्रदेश २ को आफ्नै शिक्षा नीति हुन्छ ।
प्रदेश २ को विभिन्न ठाँउको सरकारी शैक्षिक संस्थाको वर्तमान र विगतको अवस्था, प्रदेश २ मा शिक्षा विकासको अवरोधका तत्वहरु बारे चर्चा गर्दै ती सबै अवरोधका तत्वहरुलाई निर्मुल पार्न प्रदेशले आफ्नै शिक्षा नीति बनाउने मुख्यमन्त्री राउतले उल्लेख गरे।
गरिब, असहाय र अशिक्षित अभिभावकको बालबालिकालाई कसरी विद्यालयमा नियमित उपस्थिति गराउने, कस्तो वातावरण बनाएर पढाउनुपर्छ त्यो कुरालाई सम्बोधन हुने गरी उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगलाई शिक्षा नीति तयार पार्न मुख्यमन्त्री राउतले सुझाब दिए ।
विद्यालय तहमा कम्तिमा स्नातक पास शिक्षक मात्र राख्ने प्रावधान बनाइ शिक्षा नीति तयार गर्नुपर्ने मुख्यमन्त्री राउतको भनाइ छ । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगका सदस्य प्राध्यापक डा। विद्यानाथ कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा आयोजक संस्थाको सदस्य प्राध्यापक डा. सुजनबाबु मरहठ्ठाले राष्ट्रिय शिक्षा नीतिको खाका प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सामाजिक विकास मन्त्री नवल किशोर साह, राज्यमन्त्री अभिराम शर्मा, सामाजिक विकास मन्त्रालयका सचिवहरू, नगरकी उपमेयर रिता झा लगायतको उपस्थिति रहेको थियो ।