बैरी बज्यैसँग भक्तले चिच्याएर मागे वर



पाल्पा : देवीदेवतासँग सामान्यतया मनमनै वर माग्ने गरिन्छ । कतिपय ठाउँमा देवीदेवतासँग मागेको वर अरुले सुने पूरा नहुने भन्ने जनविश्वास पनि पाइन्छ । तर पाल्पाको तिनाहुँ गाउँपालिका–४ मा एउटा यस्तो देवस्थल छ, जहाँ चिच्याएर वर मागिन्छ । तिनाहुँको सत्यवती मन्दिरमा चिच्याएर वर माग्ने मेला हालै सम्पन्न भएको छ । 

सत्यवती मन्दिरमा रहेकी बज्यै बैरी छन् भन्ने धार्मिक विश्वास रहेकाले यहाँ आउने दर्शनार्थीले चिच्याएर बर माग्ने गर्छन् । मन्दिर र ताल वरपर परिक्रमा गर्दै चिच्याएर वर मागेमा भाकल पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । यही कारण यहाँ पूजा गर्न आउने दर्शनार्थीले चिच्याएर वर माग्ने गर्छन् । 

 

यसपटक मेलामा पाल्पा, गुल्मी, रुपन्देही, स्याङ्जालगायतका विभिन्न जिल्ला तथा भारतको लखनउदेखिका दर्शनार्थी आएको स्थानीय  धु्रवप्रसाद पंगेनीले जानकारी दिए । मेलामा सहभागी भक्तजनबाट तीन लाख २५ हजार रुपैयाँ हाराहारी भेटी संकलन भएको छ । 

भेटी रकम मन्दिरको भौतिक पूर्वाधार, खानेपानी, बिजुली, मन्दिरसम्म पुग्ने सडक मर्मत तथा विस्तार, मन्दिरका लागि आवश्यक सामग्री खरीदमा खर्च गरिने मन्दिर व्यवस्थापन समिति अध्यक्ष सुनवीर गाहामगरले बताए । 

 

कात्तिक पूर्णिमाको अवसरमा मंसिर ५, ६ र ७ गते तीन दिनसम्म मेला लागेको थियो । यस वर्ष करीब एक लाख दर्शनार्थीले मेला अवलोकन गरेका थिए ।

रासस

 

प्रतिक्रिया दिनुहोस्