कस्ती डल्ली ?



बागलुङको बडिगाड गाउँपालिकाका स्थानीय कुमाल जातीको हम्फै नाच

बागलुङ : चिटिक्क सजिएको, सानो टाउको, ठूलो शरिर, होचो तर छमछमी नाच्ने, झट्ट हेर्दा अनौंठो लाग्ने, पछि पछि लाहुरेले पछ्याइरहेको, वरिपरिका दर्शक अचम्मित, सबैको खासखुस, अनि बीचैमा प्रश्न कहाँबाट ल्याएको ? कस्ती डल्ली ? के काम गर्ली ? हामी कहाँ हुने काम आउला की नआउला ? सबै प्रश्नको गितबाट उत्तर दिँदै काम गरी देखाउने, कुमाल जातीको एउटा ऐतिहासिक सांस्कृतिक नाच हो हेम्फै ।

 

परापूर्वकालदेखि कुमाल जातीमा देखाउँदै र नाच्दै आएको तर अहिले लोपउन्मुख नाच हो हेम्फै । हेम्फैको खास अर्थ आजकालका कसैले पनि भन्न सक्दैनन् । यद्यपी यसको अर्थ केटा केटीबीचको सम्बन्ध भन्ने बुझ्न सकिन्छ। विशेष गरेर पहिले रोधी बस्ने चलनसँग यसको सम्बन्ध देखिन्छ।

 

रोधी घरमा मन परेको लाहुरेले उतैबाट माया प्रेममा पारेर प्रेमिकालाई विवाह गरेर घरमा ल्याइ रोधीमा पुर्‍याउने र रोधीमा जम्मा भएका सबैले कसरी ? किन ? कहाँबाट ? लिएर आएको नयाँ नानीलाई भनी सोध्ने र आफ्नो समाजमा हुने सबै काम जाने नजानेको परीक्षा ल्याउने विषयसँग जोडिएको नाच हो हेम्फै ।

 

लाहुरेले प्रेमीकाका सकारात्मक कुरा गर्ने, आफूले जिवनभर धोका नदिने वाचा गर्ने र रोधीमा उपस्थित सबैसँग रमाइलो गरि आफूले मयालाबाट ल्याएको कोशेली बाँड्ने र सबैसँग नाच्ने कथा हो हेम्फै ।

 

हाम्रा साँस्कृतिक पर्व, नाच आदि सामाजिक परिवेशसँग जोडिएका छन्। तत्कालिन् अवस्थामा त्यो नै सामाजिक परिवेश थियो र उनीहरु त्यसैमा रमाइलाे गर्थे। यद्यपी आजभोली आधुनिकता र प्रविधिको विकाससँगै त्यस्ता मौलिक संस्कृति संकटमा पर्दै गएका छन्।

प्रतिक्रिया दिनुहोस्