झाेलामा वडा कार्यालय : स्थानीयलाई हैरानी



सोलुखुम्बु : महाकुलुङ गाउँपालिका वडा नम्बर ३ कार्यालय प्रायः बन्द नै रहने गर्छ । वडाको आफ्नै भवन पनि छ । तर, कार्यालय भने अधिकांश समय बन्द हुँदा सेवाग्राही दिक्क भएका छन् ।

 

कार्यालय बन्द हुने हुँदा स्थानीयले पटक पटक गुनासो पनि गरिरहेकै छन् । तर, दैनिक कार्यालय खुलाउनेतर्फ भने जनप्रतिनिधिले चासो देखाएका छैनन् । 

 

कार्यालय बन्द भएर सेवा पाउन नसकिएपछि सेवाग्राही पनि कार्यालय जान खोज्दैनन् । एक स्थानीयले भने, ‘मान्छे भेटे पो वडा कार्यालय जानु, जनप्रतिनिधि नै आउँदैनन्, किन त्यहाँ जाने ।’

 

सोही वडाका स्थानीय प्रशान्त विश्वकर्माले भने, ‘वडा बन्द हुने हुँदा जहाँ प्रतिनिधि भेटियो, त्यहीँ काम गराउँदै आएका छौं ।’ अन्तको वडा कार्यालयले वडामा कर्मचारी व्यवस्थापन गरेर चुस्त सेवा दिइरहेको र आफ्नो वडाको हालत बेहाल भएकोप्रति गुनासो गर्दै भने, ‘झोलाबाट सेवाग्राहीको काम हुँदै आएको छ । साह्रै झन्झट भइरहेको छ ।’

 

तर, वडाध्यक्ष दिकबहादुर कुलुङ भने नागरिकको सेवाका लागि भन्दै कार्यालयभन्दा पनि जहाँ भेटियो त्यहीँ सेवा दिएर झन् सजिलो भएको बताउँछन् ।

 

उनले भने, ‘वडासचिव पनि स्वास्थयका कर्मचारी छन्, काम गर्न गाह्रो छ, कार्यालयमा भन्दा बरु यसरी सेवा दिँदा सेवाग्राहीलाई सजिलो होस् भनेर कार्यालयमा बस्नेभन्दा यो विधि अपनाएका हौं ।’ तर, वडा कार्यालयको काम गर्ने यो तरिकादेखि स्थानीय भने खुसी छैनन् । 

प्रतिक्रिया दिनुहोस्