नक्कली नागरिकता लिने दुई भारतीय समातिए



वीरगन्ज : जिल्ला प्रशासन कार्यालय पर्सामा राहदानी लिन पेस गरेको नागरिकता नक्कली भएको आरोपमा पर्सा प्रहरीले दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । 

 

पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–९ बस्ने दिनेशकुमार साह र अरविन्दकुमार सर्राफ रहेका छन् । साहले नक्कली नागरिकताको आधारमा राहदानी लिन खोज्दा तथा सर्राफले झूटो विवरण पेस गरी २०६३ सालमा लिएको नागरिकताको आधारमा छोराको नागरिकता बनाउन खोज्दा उनीहरु पक्राउ परेको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताए ।

 

सर्राफको नेपाल र भारत दुवैतर्फको नागरिकता भेटिएकाले यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । २०६३ सालमा स्थानीय जनप्रतिनिधिको सिफारिसमा टोलीले जथाभावी नागरिकता वितरण गरेको र त्यही मौकामा धेरै भारतीयले नक्कली विवरण पेस गरी नेपाली नागरिकता लिएको स्थानीयको आरोप छ । उनीहरुले यो विषयको छानबिन हुनुपर्ने माग पनि गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्