कैलाली : १२ वर्षयता कैलालीमा ३०० जना एचआइभी संक्रमितको मृत्यु भइसकेको छ । कैलालीमा एचआइभी संक्रमितहरुको संख्यामा कमी आए पनि पुराना संक्रमितहरुको मृत्यु दर भने वृद्धि भएको छ । गत आर्थिक वर्षमा मात्रै कैलालीका ३३ जना एचआइभी संक्रमितले ज्यान गुमाएका छन् ।
संक्रमितहरुले एआर टि नियमित सेवन नगर्दा एचआईभी न्यूनिकरणमा चुनौती देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका एचआइभी फोकल पर्सन महेन्द्र चन्दले बताए ।
कैलालीमा आर्थिक बर्ष २०७२-०७३ मा १०४ जना संक्रमित फेला परेकोमा ०७३-०७४ मा ११७ र गत आर्थिक चालू वर्षमा हालसम्म एक सय १५ जना फेला परेको उनले बताए ।
सन् २००६ देखि हालसम्म ३०० जना संक्रमितको ज्यान गुमाइसकेका छन् । १२ बर्ष यता एक वर्षमा औषत २५ जनाले ज्यान गुमाए पनि गत आर्थिक वर्षमा मात्रै ३३ जनाले ज्यान गुमाएका छन् ।
औषधि नियमित नखादा ज्यान गुमाउनेहरुको संख्या बढिरहेको सेती अञ्चल अस्पतालका जर्नल फिजिसियन चिकित्सक डा. शेरबहादुर कमरले बताए ।
उनले नेपाल र भारतको खुला सीमा र मौसमी कामका लागि भारत तथा वैदेशिक रोजगारीका लागि जाने यूवाहरुका कारण एचआईभी संक्रमितको सन्त्रास रोकिन नसकेको बताए ।
सुदूरपश्चिम प्रदेशमा झण्डै ६ हजार ४ सयको हाराहारीमा एचआइभी संक्रमित रहेको तथ्याङ्क छ । सुदूरपश्चिममा एचआइभि संक्रमितहरु सबैभन्दा बढी कैलाली, अछाम र डोटीमा छन ।