दार्चुला : महाकाली नगरपालिका र सामुदायिक प्रहरी सेवा केन्द्र दार्चुलाको संयुक्त आयोजनामा समुदाय–प्रहरी साझेदारी अवधारणाअनुसार लैंगिक हिंसासम्बन्धी जनचेतनामूलक र्याली आयोजना गरिएको छ ।
अन्तर्राष्ट्रिय लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत महाकाली नगरपालिका–३ हुनैनाथ मावि बाज दार्चुलाको प्रांगणबाट सुरु भएको र्याली टोलटोलमा परिक्रमा गरी सोही विद्यालय प्रांगणमा पुगी कार्यक्रममा परिणत भएको थियो ।
महाकाली नगरपालिका–३ का वडाध्यक्ष पदमसिंह महरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सरकारी निकायका प्रमुख तथा प्रतिनिधि, बुद्धिजीवी, शिक्षक, अभिभावक, सञ्चारकर्मी, महिला सञ्जाल तथा स्थानीय विद्यालयका विद्यार्थी सहभागी थिए ।