भक्तपुरमा प्रत्येक महिनामा दुई बलात्कारका घटना



भक्तपुर :  जिल्लामा प्रत्येक महिना दुई बलात्कारका घटना हुने गरेको इन्सेक जिल्ला शाखा भक्तपुरले जनाएको छ ।

 

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक जिल्ला शाखाले आयोजना गरेको नेपाल मानवअधिकार वर्ष पुस्तक २०१९ को वार्षिक पूर्वसमीक्षा कार्यक्रममा यो तथ्य सार्वजनिक गरिएको हो ।  

 

इन्सेककी जिल्ला प्रतिनिधि सविना केसीले सन् २०१८ जनावरीदेखि नोभेम्बर २७ सम्म अर्थात् ११ महिनाको अवधिमा भएका हत्या, बलात्कार तथा बलात्कार प्रयास, बाल यौनशोषण तथा दुव्र्यवहार, बहुविवाह, घरेलु हिंसा र अपहरणलगायत घटनाको तथ्यांक सार्वजनिक गरेकी हुन् ।

 

तथ्यांकले ११ महिना अवधिमा बलात्कारका २६ घटनामध्ये बलात्कार प्रयास तथा यौन दुव्र्यवहारका घटनामा तीन र बाल यौन दुव्र्यवहारमा एक बालिका पीडित भएका थिए । यसैगरी ६ जनाको हत्या हुनुका साथै बहुविवाहको घटनामा नौ र अपहरणको घटनामा एक बालक पीडित भएका थिए ।

 

जिल्ला समन्वय समिति उपप्रमुख सरिता कुँवरले लागूपदार्थ सेवनकर्ताबाट धेरै घटना भएको तथ्यबाहिर आएको बताउँदै गलत संगतले पनि उमेर नपुगेका किशोरकिशोरी दुव्र्यसनीमा लागेकाले अपराध बढेको हो । सूर्यविनायक नगरपालिका उपप्रमुख जुना बस्नेतले महिला हिंसा मात्रै नभई पछिल्लो समयमा पुरुष हिंसा पनि बढ्दै गएको पाइएको बताइन् ।

 

महानगरीय प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जिल्लामा बलात्कारको भयावह अवस्था रहेको बताए । गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष सोम शर्मा बजगाईंले अपराधका घटना महत्वपूर्ण नभई त्यसको कारण महत्वपूर्ण भएकाले यसलाई न्यूनीकरण गर्नुपर्नेमा जोड दिए ।

 

प्रतिक्रिया दिनुहोस्